लन्डन । गायिका ममता गुरुङ सांगीतिक कार्यक्रमका लागि युके आउने भएकी छन् । उनको भिसा लागिसकेको छ ।
ल्होछार (नयाँ वर्ष) अवसरमा तमु धीं युकेले यही ३० डिसेम्बरमा आयोजना गर्न लागेको कार्यक्रममा उनको प्रस्तुति रहने छ । गुरुङ/तमुहरुको बर्सेनि मनाउने महान् पर्व ल्होछार (हिं ल्हो–बिरालो वर्ग बिदाइ र नयाँ वर्ग मुप्री ल्हो–गिद्ध वर्गको) आगमन अवसरमा एम्पायर हल अल्डरसटमा विविध कार्यक्रम गर्न लागेको तमु धिं युके उपाध्यक्ष एवं ल्होछार संयोजक कमल गुरूङले बताए ।
कास्कीको धम्पुस पोखरी घर भइ हाल पोखरा बस्ने ममता नेपाल सिजन ३ मा उत्कृष्ट ९ मा पर्न सफल गायिका हुन् । सुमधुर स्वरकी धनी उनले नेपाली, गुरूङ, हिन्दी गीतहरु गाउन सक्छिन् । उनी रेडियोकर्मीसमेत हुन् । बुवा मुन्ना गुरुङबाट प्रभावित भई सांगीतिक क्षेत्रमा लागेकी ममता सानैदेखि विभिन्न गायन प्रतियोगिताहरुमा भाग लिने गर्थिन् । जसरी भए पनि कलाकार बन्छु भन्ने सपना बोकेर हिँडेकी उनी बुबासँगै रियाज गर्थिन् ।
संगीतप्रतिको भाव बुझेकी उनी पहिलो पटक ६ कक्षामा पढ्दा विग आइकन शोमा भाग लिएकी थिइन् । नेपाल आइडल अघि धेरै रियालिटी शोहरुमा सहभागी भएर धेरै अनुभव बटुलिसकेकी ममता सशक्त गायिका हुन् । उनका थुप्रै गीत दर्शकस्रोताले रुचाएका छन् ।
उनी चवासा फुड प्रोडक्टको ब्रान्ड एम्बास्डर पनि हुन् । उनले युकेमा छँदा विविध कार्यक्रममा व्यस्त हुने छन् ।
यसैगरी, तमु धीं युकेको ल्होछार कार्यक्रममा पोखराका अर्का कलाकार सरुन गुरुङ पनि आउँदै छन् ।
तनहुँ घर भइ हाल पोखरा बसोबास गर्ने सरुन विभिन्न गीतसंगीतबाट परिचित छन् । साथै बेलायत भ्रमणमा रहेका लमजुङ भइ हाल पोखरा बस्ने गायक तिलक गुरुङले पनि तमु ल्होछारमा प्रस्तुति राख्ने तमु धीं युकेका महासचिव डा. विशाल गुरूङले बताए।