लन्डन । बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी अभियानमा संलग्न भएको आरोप लगाएको छ । रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आशङ्का गरिएको छ ।
विभाजनकारी २०१६ ब्रेक्जिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ । यद्यपि उक्त हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ । पछिल्लो दावीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लन्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ ।
“बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयासहरू सम्पूर्णरूपमा अस्वीकार्य छ र उसले हाम्रो लोकतान्त्रिक प्रक्रियाहरूलाई जोखिममा पार्न खोजेको छ”, बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले एक विज्ञप्तिमा भने, “हामी जिम्मेबार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएर र आज रुसी राजदूतलाई बोलाएर प्रभाव पार्ने उसको कुत्सित प्रयासहरू उजागर गर्दैछौँ र रुसले विश्वव्यापी मञ्चमा कसरी कामको छनोट गर्छ भनेर उदाहरणका लागि प्रकाश पार्दैछौँ ।”
क्यामरुनको कार्यालयले सेन्टर १८ (एफएसबीभित्रको एकाइ) बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेबार रहेको बताएको छ । एफएसबीले धेरै राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेको र केही साइबर हमलाका कारण कम्तीमा सन् २०१५ देखि सन् २०२३ सम्म एउटा अपरेसनमा कागजातहरू (लिक) चुहावट भएको बेलायत सरकारले दावी गरेको छ । विज्ञप्तिमा उक्त सङ्गठनले बेलायत–अमेरिका व्यापार कागजातहरू पनि ह्याक गरेको र यो स्न २०१९ डिसेम्बरमा बेलायतमा आमनिर्वाचन हुनुभन्दा पहिला लिक गरिएको उल्लेख छ ।
दुई रुसी गुप्तचरमाथि कथित स्पियर–फिसिङ अभियान र ‘बेलायतलाई कमजोर पार्ने उद्देश्यका गतिविधि’ को तयारीमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको विदेश मन्त्रालयले बताएको छ । स्पियर–फिसिङमा एक हमलाकारीले विशिष्ट लक्ष्यहरूलाई ‘संवेदनशील जानकारी साझा गर्न प्रेरित गर्नका लागि’ दुर्भावानापूर्ण लिङ्क पठाउँछ ।
बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार हमलाकारीले प्राय उसको हमलालाई अझ धेरै प्रभावकारी ढङ्गले तयार गर्नका लागि ‘आफ्नो लक्ष्य वरपर जासुसी गतिविधि’ गर्दछ । तिनीहरू सामान्यतया इमेल, सामाजिक सञ्जाल र व्यावसायिक नेटवर्किङ प्लेटफर्महरूमार्फत लक्ष्यहरूमा पुग्छन्, तिनीहरूले लक्ष्यहरूको वास्तविक–विश्व सम्पर्कको रूप धारण गर्दै सम्मेलन र कार्यक्रमहरूमा झुटा निमन्त्रणा पठाउँछन् र जुम बैठक युआरएल लिङ्कको भेषमा खराब लिङ्क साझेदारी गर्छन् ।
- एजेन्सी