लन्डन ५ डिसेम्बर २०२३ । विद्यार्थी भिसामा बेलायत आएकी बिरुवा गाउँपालिका- ४ ओरस्टेकी ३१ वर्षीया कमला गुरुङको निधन भएको छ ।
स्वास्थ्य समस्यापछि डिसेम्बर ३ तारिखमा रेडिङस्थित रोयल बर्कसायर अस्पताल पुर्याएकी कमलाको आइतबार निधन भएको हो । उनी बीपीपी यूनिभर्सिटी वेष्ट लन्डनमा मास्टर्स गर्न आएकी थिइन् ।
गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरले पनि कमला गुरुङको मृत्यु भएको पुष्टि गरे ।
बिरुवा गाउँपालिका ४ का वडाध्यक्ष मुक्तबहादुर गुरुङले पनि बेलायत पुगेकी कमला गुरुङको मृत्यु भएको पुष्टि गर्दै आफूहरुलाई अत्यन्तै दु:ख लागेको बताए । गोर्खा मिडियासँग कुरा गर्दै वडाध्यक्ष मुक्तबहादुरले भने, 'कमला गुरुङको मृत्यु सत्य-तथ्य घटना हो । मेरो गाउँकै हो । हामीलाई दु:ख लाग्यो । सुन्दैमा झसंग भएँ । घर, परिवार र माइतीलाई कस्तो पीडा परेको होला । सायद उनका श्रीमान् पनि बेलायत प्रस्थान गरेको सुनेको छु ।'
कमला नाता प्रमाणित गर्न दुई हप्ता अगाडि वडा कार्यालयमा आएकी समेत वडाध्यक्ष मुक्तबहादुरले स्मरण गरे ।
यसैबीच गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का अध्यक्ष प्रेम गाहा मगरले कमला गुरुङको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् । सोमबार एक शोक सन्देश जारी गर्दै अध्यक्ष गाहामगरले कमलाको निधनको खबरले स्तब्ध बनाएको समेत उल्लेख गरेका छन् ।
'गत चार दिनअघि नोभेम्बर (३०, २०२३) बुधबारका दिन पढाई भिसामा बेलायत आइपुगेकी कमला गुरुङको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ । म यस घडीमा गहिरो दुःख व्यक्त गर्दछु । यति कलिलो उमेरमै उनलाई गुमाउनु समुदायका लागि पनि ठूलो क्षति हो,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'कमलालाई ३ डिसेम्बर २०२३ मा रोयल बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो र सोही दिन ३१ वर्षको उमेरमा उनको दुःखद निधन भयो । उनको परिवारलाई यस दु:खद खबरबारे जानकारी दिइएको छ ।'
अध्यक्ष गाहामगरले अत्यन्त दु:खद् यस समयमा कमलाका परिवार र प्रियजनहरूप्रति एनआरएनए यूकेको तर्फबाट सहानुभूति प्रकट गरेका छन् । उनले भनेका छन्, 'हामी उहाँहरूको दुःख बाँड्न, हाम्रो समर्थन र समवेदना व्यक्त गर्न एकसाथ पनि छौं ।'