लन्डन । गोर्खा इन्टेक १९८५ को १७ औ साधारण सभा आइतबार अल्डरसटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पिताम्बर राना र संस्थापक अध्यक्ष शेरबहादुर सुनारले कार्यक्रमको उद्घाटन गरेका हुन् । १६ जनाले सहभागिता रहेको सभामा ६ जनाले क्षमायाचना गरेका थिए ।
संस्थाका महासचिव विजय गुरुङले संस्थाको वार्षिक प्रतिवेदन पेस गरे भने आर्थिक विवरणबारे कोषाध्यक्ष धीरेन चेम्जोङले प्रस्ट पारे । उनले १० पाउण्डमात्र भुक्तान गरेका सदस्यलाई तत्काल २० पाउण्ड थप गरी साधारण सदस्यताका लागि आह्वान गरे ।
सभाले रेमेम्बर डे मा पहिलो भि.सि. कुलवीर थापाको सालिकमा प्रत्येक वर्ष संस्थाको तर्फबाट पुष्पञ्जली चढाउने निर्णय गरेको छ । साथै हिउँदे समर भेला २०२४ का लागि १५ जुन तारिख शनिबार बेसिङ्स्टोकमै गरिने भएको छ । आगामी २०२५ को समर भेला भने ४० औं वर्षगाँठ कारणले हुने छैन ।
१९८५ इन्टेक ४० औं वर्षगाँठ काठमाडौंमा भव्यरुपमा मनाउने कार्यक्रमका प्रमुख संयोजक शेर सुनारले प्रस्ट पारे । उनले सम्पूर्ण नम्बरी, नम्बर्नीलाई उक्त ऐतिहासिक कार्यक्रममा सहभागीका लागि आह्वान गरे । हालसम्म १ सय २९ जना नम्बरीले नाम लेखी सकेका छन् ।
साथै, ८ फेब्रुअरी, २०२५ को कार्यक्रम तयारीका लागि जनवरी अन्तिम हप्ताको शुक्रबार बेलुका ७ बजेर ३० मिनेटमा छोटो जुम मिटिङ बस्ने निर्णय भएको छ । ९ फेबु्रअरीमा सम्पूर्ण नम्बरीहरु इन्द्रेणी कार्यक्रममा उपस्थित भै इन्टेक १९८५ को संक्षिप्त परिचय तथा भेटघाट मनोरञ्जनका लागि संयोजकमा पूर्व अध्यक्ष राजन क्षेत्रीलाई चयन गरियो ।
कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै संस्था अध्यक्ष शेरबहादुर सुनारले सम्पूर्ण नम्बरीलाई सहभागिताका लागि धन्यवाद दिए ।