लन्डन । गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
विश्व अपांगता दिवसको अवसरमा आइतबार लन्डन वेलिङस्थित सेन्ट माइकल्स् कम्युनिटी सेन्टरमा च्यारिटी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट ६ हजार पाउन्ड (करिब १० लाख रुपैयाँ) रकम जम्मा भएको समाजले जनाएको छ । संकलित रकम नेपालमा अपांगता भएकाहरुको सहयोगमै खर्च गरिने समाजले जनाएको छ ।
अध्यक्ष वीरबहादुर बलालको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले अपांगता भएकाहरुको लागि आवश्यक नीति तथा पूर्वाधार दुवैको विकासमा नेपालले पनि उल्लेखनीय सुधार गरिरहेको उल्लेख गरे । उनले विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज यूकेले गर्दै आएको च्यारिटी कार्यक्रमको सराहना गरे ।
कार्यक्रमका विशेष अतिथि लन्डन ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाटले बेलायतवासी गुल्मेलीहरुको पहलमा नेपालमा सहयोग गर्ने कार्य प्रशंसनीय रहेको बताए ।
यस्तै दुवै खुट्टाबिना सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हरि बुढामगरले अपांगता भएका व्यक्तिहरुले पनि माया र हौसला पाए भने सामान्य क्षमताका मानिसहरुले जस्तै हरेक क्षेत्रमा सफलता पाउन, खुशी हुन र सार्थक जीवन बिताउन सक्ने अनुभव सुनाए ।
कार्यक्रममा एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहामगर, नेपालबाट आएका समाजसेवी विष्णुप्रसाद भण्डारी, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापालगायतले पनि शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा एनआरएनए इंग्ल्याण्ड अध्यक्ष शम्भु अर्याल, काभ्रे सोसाइटी यूके अध्यक्ष नारायण फुँयाल, सिर्जनशिल लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्याल, गल्कोट समाज यूके अध्यक्ष चन्द्र सहानी, नेप्लिज नर्सिङ एशोसिएसन यूके अध्यक्ष सुनिता गौतम थापा, बुटवल सेरोफेरो अध्यक्ष क्या ताम ढेगा, पशुपतिनाथ मन्दिर अध्यक्ष गोपाल अर्याल, डाटफोर्ड नेपाली समाज अध्यक्ष डा बीना पाण्डे, चार्ल्टन नेपाली समाज अध्यक्ष सीता अर्याललगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति थियो ।
त्यस्तै, गुल्मी जिल्ला समाज यूकेका पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी र टोप पल्ली, सल्लाहकारहरु मोति भण्डारी, बालजंग अर्याल, केशव भण्डारी, विनोद ज्ञवाली, चक्रबहादुर राना, रणबहादुर खाती क्षेत्री, दासुराम पाण्डे, फत्त थापा, रोमनाथ पाण्डे, झपट भुजेल, राजेन्द्र श्रेष्ठ, राम सापकोटा, खड्क रेश्मी, विष्णु घिमिरे, भोजराज भण्डारी, कृष्ण भण्डारीलगायत पनि कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा शारीरिक अपांगताका बाबजुद समाजमा प्रेरणादायी योगदान गर्न सफल कीर्तिमानी आरोही हरि बुढामगर र विनोद बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएकी लोकदोहोरी गायिका वन्दना पाण्डेले सांगीतिक प्रस्तुति गरेकी थिइन् । त्यसअघि क्याप्टेन वीरबहादुर थापाले सुमधुर गीत प्रस्तुत गरेका थिए भने ईच्छा शाहीले नृत्य प्रस्तुत गरिन् । त्यस्तै, प्रथम गुल्मेली नौमती बाजा यूकेले पनि प्रस्तुति गरेको थियो ।
महासचिव रुद्र थापाले औपचारिक र सचिव महलाल घिमिरेले मनोरञ्जनात्मक सत्र सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तारा भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन्। उपाध्यक्ष मञ्जु भण्डारीले अपांगता दिवसको विषयमा रचित कवितावाचन गरेकी थिइन् ।