लन्डन । केन्ट काउन्टीस्थित रोचेष्टर शहरको डिकेन्स क्रिसमस फेस्टिभल २ र ३ डिसेम्बरमा सम्पन्न भएको छ।
मेडवेका मेयर काउन्सिलर नीना गुरुङ, मेयर कन्सोर्ट ताइकाजी गुरुङ, डिपुटी लेउटेनेन्ट ब्रिगिडिएर पिटर गिल्बर्टको मुख्य उपस्थिति रहेको थियो । मुख्य परेड रोटेष्टर हाइस्ट्रिटमा भएको थियो । शहरको सबैभन्दा अग्लो नोरमन क्यासल र बेलायतकै दोस्रो पुरानो रोचेष्टर क्याथिड्रिल बीचमा परेड समापन भएको थियो।
उक्त मेडवे परेड मेयर गुरुङले लिड गरेका थिए । बेलुका ठीक ५ बजे रोचेष्टर हाई स्ट्रिटमा मैनबत्ती परेड शुरुवात हुँदा मेयर, मेयर्स कन्सोर्ट र ब्रिगिडिएर गिल्बर्ट साथै हिंडिरहेका थिए । उनीहरुको पछि डिकिन्सनका क्यारेक्टरहरु, क्रिसमस क्यारोल, ओलिभर ट्विस्ट, ग्रेट एक्स्पेक्टेसन, द मिस्ट्री अफ एडविन ड्रोड, डेभिट कुपरफिल्ड, अ टेल अफ टु सिटिज र अन्य धेरैको लामो लाइन थियो।
उक्त माहोलमा मेयरले मेडवेको भाग साँच्चै युकेको सबैभन्दा सुन्दर शहर भएको छ भन्दा भीडले सहमति जनाउँदै सबै हर्षित बन्दा माहोल गुलजार बनेको थियो ।
क्रिसमस फेष्टिभलको आयोजना गर्न झन्डै महिना दिनको समय लाग्दछ । धेरैसँग सहकार्य गर्नुपर्ने बताउँछन्, मेयर गुरुङ । फेष्टिभल सफल पार्न जुटेका रोचेष्टर र चाथम डिकेन्स फेलोशिप, द पिकविक क्लब, वन म्यान ब्यान्ड, भिक्टोरियन स्ट्याचुज, रोचेष्टर प्रोपर्स, द भिक्टोरियन स्ट्रोलर्स, ग्रेट स्पेक्टेसन्स, स्टीम्पंक मोरिसन, फागिन, मिस्टर पिकविक र मिस हविशाम लेडिज, सिटी अफ रोचेष्टर पाइप ब्यान्ड, टाउन क्रयर, प्रिटेन्डिङ पिपल, रोचेष्टर क्याथिड्रल र क्यानोन डा. गोर्डन गिल्स, बीएई सिस्टम ब्रस ब्यान्ड, रोचेष्टर क्यारोल सोसाइटी सम्पूर्णलाई मेडवेका तर्फबाट मेयरले धन्यवाद दिए ।
३७ औं वर्ष पुग्दा डिकेन्स क्रिसमस फेष्टिभलले हरेक वर्ष लगभग २ लाख मानिसहरुलाई आकर्षित गरेको आयोजक बताउँछन् । यो वर्ष सबै उमेर र पृष्ठभूमिका मानिसहरु र युकेका अन्य ठाउँका मानिसहरु पनि सहभागी भै फेष्टिभल भव्य भयो।
प्रख्यात अंग्रेजी उपन्यासकार चाल्स डिकेन्सको बाल्यकाल त्यही ठाउँमा बितेको थियो । त्यहीबाट आफ्नो जीवन, करियर र लेखनलाई शुरुवात गरेका थिए । विश्वव्यापि ख्याति र प्रशंसा पाएपछि पनि रोचेष्टरमै फर्केर बसोबास गरेका थिए । भिक्टोरियन पालाका महान उपन्यासकारको सम्झना गर्न पनि मेडवेका जनता फेष्टिभलमा आउँछन्।
मेयर गुरुङले आगन्तुकहरु, परेड र कार्यक्रममा भाग लिने सबैलाई धन्यवाद दिँदै मेरी क्रिसमस र नयाँ वर्ष २०२४ को शुभकामना दिए।