लन्डन । नेपाली समाज नटिङहम इस्टमिड्ल्यान्ड यूकेको अध्यक्षमा रामप्रसाद पन्थी निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न संस्थाको आठौं अधिवेशनले पन्थीको नेतृत्वमा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघिका अधिवेशनहरुमा नेतृत्वका लागि निर्वाचन नै गर्नुपरेको परम्परा तोड्दै सहमति निर्माण गरी नयाँ कमिटी निर्वाचित गरिएको हो।
नवनिर्वाचित अध्यक्ष पन्थीले समाजमा यसअघि उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदमा काम गरिसकेका छन् । उनले साझा नेपाली समाज यूकेमा उपाध्यक्ष, एनआरएनए इंग्ल्याण्ड राज्य परिषदको सचिवजस्ता जिम्मेवारी पनि सम्हालेका छन् ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष मुकुन्दहरि खराल र लोकनाथ अधिकारी, महासचिव वीरेन्द्र खड्का, सचिव पदमबहादुर गोले, कोषाध्यक्ष रविन्द्र गिरी र सहकोषाध्यक्ष मोहन केसी छन् ।
त्यस्तै, सदस्यहरूमा भवानी आचार्य, यज्ञ डुम्रे, अशोक रिजाल, बसन्त अधिकारी, खगेन्द्र सहानी, द्रोण डाँगी, अर्जुन सापकोटा, हेमलाल गैरे, श्रीमति कला भट्टराई र चोलाकान्त न्यौपाने चुनिएका छन् । अधिवेशनले संस्थाको ट्रष्टी बोर्डमा विष्णु चालिसे, गंगा ढकाल, रणबहादुर खाती क्षेत्री, रामप्रसाद पन्थी र रविन्द्र गिरीलाई चयन गरेको छ ।
यसअघि समाजका पूर्व अध्यक्ष प्रविन पाण्डेको अध्यक्षतामा गठित अध्यक्षमण्डल (निर्वाचन समिति) ले सर्वसम्मत कार्यसमिति निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो । निर्वाचन समितिमा संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री, पूर्व अध्यक्षहरु विष्णु चालिसे, गोविन्द खरेल, दिपक सापकोटा र श्रीमती गिता भट्टराई सदस्य थिए ।
निवर्तमान समिति अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनको बन्दसत्रमा निवर्तमान कार्यसमितिका कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महासचिवको दुई वर्ष कार्यकालको प्रगति प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि पनि व्यापक छलफल गरी पारित गरिएको थियो । समाजका संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले संस्थामा सर्वसम्मत कार्यसमिति निर्वाचित हुंदा एकताको सन्देश गएको र राम्रो काम गर्न सक्ने वातावरण बनेको भन्दै खुशी व्यक्त गरेका छन् ।
उनले सहमति निर्माणको लागि उदारता देखाउने कमल खराल, यज्ञ डुम्रे, पदम बहादुर गोले, मुकुन्दहरि खराल, लोकनाथ अधिकारी, रेशम खड्कासहित सबैप्रति धन्यवाद प्रकट गरे ।