लन्डन । तमु धीं यूकेले आउँदो ३० डिसेम्बर २०२३ मा ल्होछार (नयाँ वर्ष) मनाउने भएको छ ।
तमु समुदायको हरेक वर्ष पुस १५ मा नयाँ वर्ष (ल्होछार) सुरु हुने भएकोले त्यसलाई मध्यनजर गर्दै बेलायतमा पनि तमुहरुले ३० डिसेम्बर (वि.सं. १४ पुस २०८०) विभिन्न कार्यक्रमका साथ ल्होछार मनाउन लागेका हुन् ।
'हामी गुरुङ/तमुहरुको बर्सेनि मनाउने महान् पर्व ल्होछारको (हिं ल्हो-बिरालो वर्ग बिदाइ र नयाँ वर्ग मुप्री ल्हो-गिद्ध बर्गको) आगमनको पावन अवसरमा यस वर्ष डिसेम्बर ३० तारिख शनिबार एम्पायर हल अल्डरसटमा विविध कार्यक्रमको साथ ल्होछार उत्सव मनाउने भएको जानकारी गराउँदछु,' तमु धीं यूकेका उपाध्यक्ष एवं ल्होछार संयोजक कमल गुरूङले भने ।
कार्यक्रम स्थानीय समयअनुसार दिउँसो साढे ४ मा सुरु भई राति ११ बजे समाप्त हुने ल्होछार संयोजक कमलले बताए । उनका अनुसार खानाको व्यवस्थासहित कार्यक्रममा प्रवेश शुल्क यसपटक २५ पाउन्ड तोकिएको छ ।
कार्यक्रमलाई मनोरञ्जन दिलाउन नेपालबाट दुई जना चर्चित कलाकारहरु बेलायत आउने पनि उनले जानकारी दिए । कास्की धम्पुस पोखरी, हाल पोखरामा बसोबास गर्ने नेपाल आइडल ममता गुरुङ र घर तनहुँ हाल पोखरामा बसोबास गर्ने सरुन गुरुङ लन्डन आउनेछन् ।
सुमधुर स्वरकी धनी ममता नेपाली, गुरूङ, हिन्दी गीतहरु गाउन सक्छिन् । उनी रेडियोकर्मीसमेत हुन् । सरुन पनि गुरुङ गीत, नेपाली गीतहरुबाट परिचित छन् ।
यस्तै बेलायत भ्रमणमा रहेका घर लमजुङ हाल पोखरामा बसोबास गर्ने गायक तिलक गुरुङले पनि तमु ल्होछारमा प्रस्तुति राख्नेछन् । हालसम्म नृत्यका लागि रेडिङ र ह्याम्पसायरबाट तयारी रहेको जानकारी उपाध्यक्ष कमलले दिएका छन् ।
गायन, नृत्य र कलाकारका लागि कार्यक्रमको दिन तमु धीं युकेको सांस्कृतिक सचिव साधुराम गुरुङ, तमु कलाकार संघ यूकेका पूर्वअध्यक्ष कुमार गुरुङले सहजीकरण गर्न जिम्मेवारी तोकिएको छ ।
उद्घोषण औपचारिक कार्यक्रम तमु धीं युकेका महासचिव डा. विशाल गुरूङले र ल्होछार सांस्कृतिक कार्यकमलाई सचिव विमल गुरूङ, हेलिशा गुरूङ र युनिल गरुङले सञ्चालन गर्नेछन् ।
यस्तै डा हर्क अवार्डको जिम्मेवारी संस्थाका सदस्य कुमार घले र उनको टिमलाई जिम्मेवारी दिएइको छ । संस्थामा आबद्ध सदस्य तथा पदाधिकारीहरुलाई छोराछोरी, नाति, नतिनीहरु कसैले हालै भएको २०२३ को जीसीएसईमा राम्रो अंकल्याएको छ भने डा. हर्क अवार्डका लागि कुमार घलेलाई सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
कार्यक्रमको अतिथि निमन्त्रणाको जिम्मेवारी उपाध्यक्ष परशुराम गुरुङलाई दिइएकोले आफ्नो भेगतिरको प्रतिष्ठित गुरूङ व्यक्तिहरु छन् भने संयोजकलाई सम्पर्क गर्न भनिएको छ ।