लन्डन । नागरिकता निरन्तरता अभियान (सीएनसीबीजी) को बृहत् भेला सम्पन्न गएको छ ।
नागरिकता जोगाउन आगामी कार्यक्रम कसरी अगाडि बढ्दै छ भन्ने विषयकेन्द्रित गत शनिबार २५ नोभेम्बर २०२३ मा अल्डरसटको एम्पायर हलमा सीएनसीबीजीले भेलाःआयोजना गरेको हो । प्रमुख अतिथि मेजर (रि) देवबहादुर पुन सल्लाहकार सीएनसीबीजी र अध्यक्ष थर्क रानाले पानसमा बत्ति बालेर सुरु गरेको कार्यक्रम संस्थाका उपाध्यक्ष शोभराज घोताने गुरुङ र सचिव जित घर्ती मगरले गरेका थिए । कार्यक्रम सुरुआत गर्दै भेलालाई संस्थाका उपाध्यक्ष शोभराज घोताने गुरुङले भेलामा उपस्थित भएका अतिथिहरु सबैलाई संस्थाको तर्फबाट स्वागत तथा धन्यवाद दिएका थिए ।
गोर्खा र निजका सन्ततिहरुको निम्ति वंशजको नागरिकता निरन्तरताको मुद्दा सफल पार्ने र आगामी कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन सबै गोर्खाजन्य संघ संस्थाहरुबाट ऐक्यबद्धता र सुझाव संकलन गर्ने मुख्य उद्देश्यसहित भेलाको सुरुमा सीएनसीबीजीको प्रवक्ता पदम गाहा मगरले सीएनसीबीजीको मुख्य एजेन्डा र उद्देश्यप्रति प्रकाश पार्दै भने, 'हामी सबै नेपालमा जन्मेका हौं । नेपाली नागरिकता छ, नेपाली पासपोर्ट छ र आफूले कमाएको वा पुर्ख्यौली सम्पत्ति सबै नेपालमा छ । हामी को हौं ? हामी के हौं? र हाम्रो स्टाटस के हो भन्ने कुरा देशको संविधानले तय गर्छ ।'
'नेपालमा सबैभन्दा धेरै सरकार परिवर्तन हुन्छ । नेपालको सन्दर्भमा राज्यबाट सबैभन्दा बढी सम्बोधन हुने कुरा नागरिकताको मुद्दा हो । नेपालमा सानोतिनो आन्दोलन हुना साथ सरकार परिवर्तन हुने बित्तिकै संसद्मा नागरिकताको विधेयकलाई लिएर सबैभन्दा बढी बहस हुन्छ । र त्यसलाई मस्यौदाको रुप दिइन्छ र विधेयकको बनाएर नागरिकता वितरण गरिन्छ । त्यसमा हाम्रो विरोध होइन,' उनले थपे, 'तर राज्यले देशका सार्वभौमिकता रक्षाका निम्ति लडेका र आफैले सन्धि गरेर पठाएका हामी वास्तविक वंशजको नागरिक गोर्खाहरुको नागरिकता, नागरिकता विधेयक बनाएर खोस्ने काम गरिरहेको छ ।'
बोल्ने क्रममा संस्थाका उपाध्यक्ष दलबहादुर बुढाथोकीले गोर्खाहरुको हुन् ? उनीहरुले देशको सार्वभौमिकता जोगाउन के भूमिका खेले र वंशजको नागरिकता निरन्तरता हुनुपर्ने आधारहरु के-के छन् भन्ने विषयमा प्रकाश पारेका थिए ।
काउन्सिलर लक्ष्य गुरुङले गोर्खा भूपूहरु ब्यूँझिएको बल्ल पाँच/छ साल भएको उल्लेख गर्दै भूपूहरुको अभियानमा ऐक्यबद्धता जनाए । 'हाम्रो तन, मन धन नेपालमा लगानी भएको छ । नेपालमा विदेशी मुद्रा आर्जन गर्ने स्रोत बेलायती सेना हो । नेपालको चौतर्फी विकासमा गोर्खाहरुको देन छ,' भने ।
उनले भूपू सेनाहरुलाई राजनीति मन पर्दैन तर राजनीति नभै केही हुँदैन । अब नेपालमा भएका पार्टीका यहाँ हुने विभिन्न भ्रातृ संगठनका नेताहरुले अब नागरिकता निरन्तरता अभियानलाई सहयोग गर्न भूमिका निर्वाह गर्न अनुरोध गरे ।
त्यसपछि संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता गोविन्द बेल्बासेले गोर्खाहरुको नागरिकता निरन्तरता हुनुपर्ने विषयमा सैद्धान्तिक आधारहरु पेस गरेका थिए ।
संस्थाका कोषाध्यक्ष भिम रानाले अभियान चलाउने मुख्य मेरुदण्ड आर्थिक रहेको भन्दै सबै हृष्टपुष्ट देखिए पनि त्यस्तो छैन भनेर सबैलाई आर्थिक संकलनमा क्रियाशील हुन अनुरोध गरे ।
काउन्सिलर जिब बेल्बासे र काउन्सिलर बिष्णु गुरुङले अभियानप्रति आर्थिक, नैतिक र भौतिक समर्थनको साथ पूर्ण ऐक्यबद्धता जनाए ।
नेपाल मगर संघका अध्यक्ष सीता पुनले यसरी ज्ञापनपत्र मात्र बुझाएर र यहाँ कार्यक्रम गरेर मात्र नपुग्दैन भन्दै सम्पूर्ण भूपूहरु नेपाल गएर पोखरा पेन्सन क्याम्पमा धर्ना बस्नुपर्ने बताइन् ।
एनआरएन यूकेका अध्यक्ष प्रेम गाहामगरले गोर्खाहरुको नागरिकताको मुद्दालाई सफल पार्न सबै गोर्खाजन्य संघ संस्थामा आबद्ध गोर्खा र गोर्खाका परिवारहरुलाई सीएनसीबीजीमा एकताबद्ध हुन आह्वान गरे ।
त्यस्तै गोर्खाहरुको समान अधिकारको निम्ति आफ्नो जीवन वास्ता नगरी आमरण अनशन बसेकी पुष्पा राणा घलेले सांसरमा बहादुर भनेर कहलायका गोर्खाहरु अन्यायमा परेर आफ्नै देशको नागरिकता निरन्तरता राखिराख्न आन्दोलन गर्नुपर्ने अवस्था आउनु दु:खपूर्ण रहेको बताइन् ।
अर्का आमरण अनशनकर्ता धनबहादुर गुरुङले यसरी अभियान चलाउन नेपालमा संस्था दर्ता गरेर आउनुस् अनि मात्र म पनि अभियानमा ऐक्यबद्धता जनाउँछु भन्दै नेपालमा २०६० मै क्या. (रि) यामबहादुर बुढाथोकीको अध्यक्षतामा भूपू सैनिक कल्यानकारी समिति नेपाल दर्ता भएकोतर्फ अनभिज्ञता जनाए ।
अहिले सीएनसीबीजीले त्यसैलाई नवीकरण गरेर आफ्नो नेपाल टिम बनाई सहकार्य गरिरहेको छ र त्यही नै आधिकारिक संस्था हो भनेर अध्यक्ष थर्क रानाले जवाफ दिए ।
तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ, सीएनसीबीजीका सल्लाहकार नायायण किशोर पुन र सीएनसीबीजीका उपाध्यक्ष खडक बुढामगरले पनि थप सुझाव दिएका थिए ।
भेलामा काउन्सिलर नेम थापा, पूर्वमेयर तथा वर्तमान काउन्सिलर बिष्णु गुरुङ, रसमूर बरो काउन्सिलका काउन्सिलर जिव बेल्बासे, पैँयुखोला मगर समाज युकेका अध्यक्ष कमल राना, खोसोभो गुरुङ समाज युकेका संस्थापक अध्यक्ष मे.रि भिमबहादुर गुरुङ एमभिओ, गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो अध्यक्ष मनिराज जोल्मी, ब्रिटिस गोर्खा नेपाली एशोसिएसनका सन्तबहादुर गुरुङ, सीएनसीबीजीका सल्लाहकार तथा मगर संघ यूकेका पूर्वअध्यक्ष मे.(रि) कुलबहादुर थापा उपस्थित थिए ।
यस्तै गोर्खा मगर समाज युकेका सल्लाहकार कर्ण दर्लामी, क्या.(रि) दिपक घले, सीएनसीबीजीका कानुनी सल्लाहकार गोबिन्द बेल्बासे, बुटवल सेरोफेरो समाज युकेका अध्यक्ष क्या.(रि) ताम धेंगा, वंशजको नागारिकता निरन्तरता एनआरएनए युके संयोजक योगेन्द्र क्षत्री, मगर बौद्ध समाज युकेका अध्यक्ष टिका दर्लामी, सीएनसीबीजी सल्लाहकार क्या (रि) रामबहादुर पुन, नेपाली जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष मान गुरुङ, नेपाली समाज यूके तथा सीएनसीबीजीका सल्लाहकार भगवान चाम्लिङ राई, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सीएनसीबीजी सल्लाहकार ले.(रि) धरमसिङ शाही, स्याण्हर्स्ट नेपाली कम्युनिटीका अध्यक्ष नेत्र थापा बलाल मगर संघ यूकेका महासचिव गुमानसिङ्ग थापा पनि उपस्थित थिए ।
यस्तै, सीएनसीबीजीका सल्लाहकार क्या.(रि) रणध्वज राना, क्या.(रि) लालबहादुर राना, ले.(रि) धरमबहादुर शाही, एनआरएनए आईसीसी मेम्बर ले.(रि) चन्द्रबहादुर गुरुङ, एनआरएनए आईसीसी सदस्य थर्क सेन, यूके भ्रमणमा रहेका एमएनओ क्रान्तिकारीका अध्यक्ष शक्ति राईलगायत बेलायतमा भएका ३ दर्जन संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, कानुनी सल्लाहकार, काउन्सिलरहरु, पत्रकारहरु, नेपालका राजनीतिक पार्टीका भ्रातृसंस्थाका प्रतिनिधिहरु साथै गोर्खा दाजुभाइ, दिदीबहिनी, छोराछोरी र भान्जाभान्जीहरु उपस्थित थिए ।
कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि मे.(रि) देवबहादुर पुनले गोर्खाली सेनाको निम्ति नागरिकताको कुरा आफूले भूपू सैनिक कल्याणकारी समिति नेपालका संस्थापक अध्यक्ष यामबहादुर बुढाथोकीसँग मिलेर २०६१ सालबाटै उठाउँदै आएको स्मरण गराउँदै अहिले उमेरको हिसाबले अलि क्रियाशील हुन नसक्ने भएकोले अब युवाहरुले निरन्तरता दिएर सफल पार्नुपर्नेमा जोड दिए ।
भेला समापन गर्दै अध्यक्ष थर्क रानाले नागरिकता निरन्तरताको विषयमा आफूहरुले प्रधानमन्त्री लगायत अरु सम्बन्धित मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएको भन्दै नेपाल सरकारको धारणा प्रतिनिधिक रुपमा रहेको नेपाली राजदूतसँग मागेको बताए । उनले जवाफ दिन आनाकानी गरे धर्ना कस्ने समेत चेतावनी दिए । भेलामा जितबहादुर पुनले सारङ्गीको धुनसँगै गीत गाएर मनोरन्जन दिलाएका थिए । साथै तारा पुनले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् ।