लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आलोपालो नेतृत्व गर्नेगरी अध्यक्षमा दुई जना चयन भएका छन् ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनबाट मान गुरुङ र लीला सेलिङ माबो अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले १८/१८ महिना कार्यभार सम्हाल्ने गरी गुरुङ र माबो अध्यक्षमा चयन भएको जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त गुरुङका अनुसार जीआरएनसीको विधान संशोधन गरेर दुई वर्षको कार्यकाललाई तीन वर्ष लम्ब्याइएको छ ।
नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि अध्यक्ष थिए भने माबो उपाध्यक्ष थिइन् । नयाँ कार्यसमितिको पहिलो १८ महिनाको कार्यकाल मानले सम्हाल्नेछन् ।
नयाँ कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला), उत्तर गुरुङ, डा.विशाल गुरुङ र जीत मेन्याङ्बो चयन भए ।
यस्तै महासचिवमा सुशीला मगर चयन भइन् भने सचिव सुनील राना बनेका छन् । कोषाध्यक्षमा श्याम श्रेष्ठ, सहकोषाध्यक्षमा सुमन पुन छन् । मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु चयन भएका छन् ।
सदस्यहरुमा गोमा राना, हेमकुमार गुरुङ, नारायण गिरीलगायत छन् ।
कल्चर सेक्रेटरी, स्पोर्ट्स सेक्रेटरीलगायत खाली पदपूर्ति कार्यसमितिले नै गर्ने निर्वाचन समितिले जनाएको छ ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
नवनिर्वाचित अध्यक्ष मान गुरुङ र लीला सेलिङ माबोले निर्वाचन समिति, उपस्थित सबै जनालाई धन्यवाद दिँदै आफूहरुले जीआरएनसी यूके गरिमालाई उच्च राख्दै अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचनका लागि एकेन्द्र गुरुङको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जसमा क्या.रि. महेन्द्र लिम्बू, रन्जिता मल्ल, वाचस्पती रेग्मी र आसबहादुर गुरुङ थिए ।
नयाँ कार्यसमिति घोषणाअघि भएको औपचारिक कार्यक्रम संस्थापक कार्यकारी अध्यक्ष रामचन्द्र गुरुङ र वर्तमान अध्यक्ष मान गुरुङले उद्घाटन गरेका थिए । उपाध्यक्ष उत्तरबहादुर गुरुङ स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन सचिव सुशीला थापाले प्रोजेक्टलगायत रिपोर्ट प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरु हलबाट पारित गरिएको थियो ।
कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए ।