लन्डन । गोर्खा भूपूहरुको स्वास्थ्यलाई ध्यानमा राखी लन्डनमा २५ नोभेम्बरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सेन्टमार्क चर्च हल, नोर्थ क्याम्प, फार्नबरोमा एनएचएसले गरेका ‘गोर्खा भेटेरन स्वास्थ्य शिविर’ मा सहभागीहरुले लाभान्वित भए । शिविरको जिआरएनसी, प्रोजेक्ट टुगेदर र कुराकानीले संयोजन गरेका हुन्।
शिविरमा ब्लड प्रेसर जाँच, बि.एम.आईं जाँच (उचाइ तथा तौल), कोभिड–१९ विरुद्धको खोप, फ्लुविरुद्धको खोप समेत दिइएको थियो ।
टिबि स्पेसलिस्ट नर्स सुनिता गौतम थापाले क्षयरोग के हो, यसको लक्षण र रोकथामका उपायबारे जानकारी दिइन्। साथै सो अवसरमा विभिन्न व्यक्तिहरुले स्वास्थ्य क्षेत्रबारे सचेतना दिएका थिए।
खोपका लागि केही मापदण्ड तय गरिएको थियो । जसमा ६५ वर्ष वा सोभन्दा माथि उमेरको भए, कुनै एक निश्चित स्वास्थ्य अवस्था भए, गर्भवती, फ्रन्टलाइन स्वास्थ्य वा हेरचाह पेसामा आबद्ध, पैसा नपाउने क्येरर भए वा रोगसँग लड्ने क्षमता कमजोर भएका व्यक्तिले कोभिड–१९ तथा फ्लु विरुद्धको खोप निःशुल्क लगाउन पाउने व्यवस्था थियो।