लन्डन । बेलायतका विभिन्न बरोस्थित नेपालीमूलका काउन्सिलरहरुले बेलायती प्रधानमन्त्री ऋषि सुन्नकलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले भूपू गोर्खाहरुले उठाउँदै आएको समान पेन्सनको माग पूरा गरिदिन आह्वान गर्दै प्रधाननमन्त्रीलाई नेपाल भ्रमणको पनि निम्तो दिएका छन् ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरुले बिहीबार प्रधानमन्त्री कार्यालयमा पुगेर सल्लाहकार अमित जोगीलाई भेटी उनीमार्फत् प्रधानमन्त्री सुनकलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री सुन्नकका सल्लाहकारले काउन्सिलरहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाए । उनले गोर्खाहरुको समान पेन्सन मुद्धा यथासक्य र प्रधानमन्त्रीको नेपाल भ्रमण अर्को वर्षसम्म गराउने आश्वासन दिएको भेटमा सहभागी जीव बेल्वासेले बताए ।
नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध दुई शताब्दीभन्दा लामो भइसक्दा पनि बेलायतका बहालवाला प्रधानमन्त्रीबाट अझसम्म नेपाल भ्रमण हुन सकेको छैन ।
काउन्लिरहरुको प्रधानमन्त्री कार्यालय भ्रमणको संयोजन रश्मोर बरो काउन्सिलर नेम थापा र लन्डन बरो अफ बार्नेट काउन्सिलर लक्ष्य गुरुङले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा कञ्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलरहरु लक्ष्यबहादुर गुरुङ, जीव बेल्वासे, गोवर्धन सिलवाल तथा काउन्सिलर उम्मेदवारहरु सुमन पुन, पुनम गुरुङ र ज्ञान गुरुङ सहभागी थिए ।
त्यस्तै, बेलायतको भेटेरान मिनिस्टर भइसकेका रश्मोर क्षेत्रका सांसद लियो डोचेर्टी र बेलायतस्थित वरिष्ठ समाजसेवी तथा व्यवसायी रविन्द्रजंग लामिछाने पनि सहभागी थिए ।
उनीहरुले बेलायतस्थित नेपाली राजदूतावासमा पनि ज्ञापनपत्र बुझाएका छन् ।