लन्डन । रिडिङ तमु समाजको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार पाकिस्तानी हलमा भएको कार्यक्रमको संस्थाका अध्यक्ष रुद्रराज गुरुङ, आमा समूह अध्यक्ष बिमला गुरुङ र संस्थापक अध्यक्ष प्रेम गुरुङले पानसमा दीप प्रज्वलनसँगै नेपाली राष्ट्रियगान गाएर उद्घाटन गरिएको थियो ।
संस्थाका अध्यक्ष रूद्रराज गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष देव गुरूङ र सञ्चालन महासचिव याम गुरूङले गरेका थिए ।
संस्थापक अध्यक्ष प्रेम गुरुङ, पूर्व अध्यक्ष ओमेन्द्र गुरुङ , पूर्व अध्यक्ष डम्बर गुरुङ, निवर्तमान अध्यक्ष नन्द गुरुङ, सल्लाहकार रि.ले. डक गुरुङ, सल्लाहकार लिवबहादुर गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष राजकुमारी गुरुङ र आमा समूह अध्यक्ष बिमला गुरुङले साधारणसभाको सफलताको शुभकामना दिँदै स्थापनाकालदेखि हालसम्म समाजका सदस्यलाई सुखदुःखमा साथ दिँदै २० औं वर्ष पूरा गर्न सफल भएकोमा बधाई दिए ।
संस्थाका महासचिव याम गुरुङले समाजले वर्षभरि गरेका गतिविधिको र कोषाध्यक्ष हस्त गुरुङले समाजको आयव्ययबारे जानकारी गराए ।
ल्होसार २३ डिसेम्बरमा मनाइने
समाजले वार्षिक कार्यक्रमअन्तर्गत गुरुङहरूको महान चाड ल्होसार आगामी २३ डिसेम्बरमा मनाउने भएको छ । सांस्कृतिक सचिव झुमप्रसाद गुरुङले २३ डिसेम्बरमा साउथ रेडिङ हलमा हुने कार्यक्रमको भब्य तयारी भइरहेको बताए ।
नेपालबाट आएका लोकदोहोरी गायक चिज गुरुङ र निर्जला गुरुङको समेत उपस्थिति रहने छ । सांस्कृतिक सहसचिव मीन गुरुङको संयोजकत्वमा फुल ब्याण्ड टिम र स्थानीय कलाकारको प्रस्तुति रहने छ ।
समाजका अध्यक्ष रूद्रराज गुरुङले उपस्थित कार्यसमिति सदस्य, स्वयं सेवक एवं महानुभावमा धन्यवाद दिँदै आगामी ल्होसार कार्यक्रम पनि सफल पारिदिन हुन अनुरोध गरे ।
कार्यक्रममा आमा समूहबाट चियापान र खगेन्द्र पुर्जा क्याटरिङ सर्भिसले खानपिन व्यवस्था मिलाएको थियो ।