लन्डन । सहारा यूकेको १३ औं वार्षिक च्यारिटी डिनर नाइट सम्पन्न भएको छ । यही शनिबार १८ नोभेम्बर २०२३ का दिन अल्डरसटमा रहेको एम्पायर हलमा अध्यक्ष ले.रि. कुसाङ गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा उक्त च्यारिटी डिनर नाइट सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथि राजदूत आचार्य र अध्यक्ष ले.रि. कुसाङले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । त्यसपछि सहारा यूकेसम्बन्धी बनाइएको ७ मिनेटको डकुमेन्ट्री देखाइएको थियो ।
महासचिव मनोज गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण गुरुङले राखेका थिए । कार्यक्रममा चारभन्ज्याङ तमु समाज यूकेले सबभन्दा धेरै १३ सय ३० पाउन्ड सहयोग प्रदान गरेको थियो । आयोजकको तर्फबाट दाता र प्रायोजकहरुलाई धन्यवाद र प्रशंसा दिएको थियो भने कलाकारहरुलाई धन्यवादसहित प्रशंसापत्र दिइएको थियो । सोही क्रममा सहारा यूकेका नयाँ सदस्यहरुलाई पनि स्वागत गरिएको थियो । नयाँ सदस्यहरुलाई सहारा यूकेको लोगो अंकित सहाराको ब्याच, गलबन्दी, टाइ अध्यक्ष ले.रि. कुसाङले प्रदान गरेका थिए ।
कार्यक्रममा 'सहारा यूके अवार्ड-२०२३' बाट आजीवन सदस्य गम गुरुङलाई सम्मान गरिएको थियो । यस्तै 'सहारा यूके स्पेसल अवार्ड-२०२३' आजीवन सदस्य सियरा गुरुङलाई दिने घोषणा गरिएको छ । सियरा गुरुङ नेपालको कर्णाली प्रदेशको 'जाजरकोट भूकम्प'का पीडितको राहत तथा उद्धारका लागि नेपाल रहेकोले पनि पछि अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।
गम गुरुङलाई प्रमुख अतिथि राजदूत आचार्य, अध्यक्ष ले.रि. गुरुङले दोसल्लासहित अवार्ड प्रदान गरे । अवार्ड प्राप्त गर्नेहरुको संक्षित व्यक्तिगत विवरण सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङले कार्यक्रममा सुनाएका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्थामा पदोन्नति भएका सहारा यूकेका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेको थियो ।
सयपत्री नेपाली कल्चरल ग्रुप यूकेका नृत्यांगनाहरु लीकोन गुरुङ, सेलीना शाही, ऋतीका खरेल, रिस्ता खड्काले स्वागत नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्यको निर्देशन र कोरियोग्राफी कविता घर्तीमगर गुरुङले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि राजदूत आचार्य सहारा यूकेले खेलकुद र सामाजिक क्षेत्रमा निकै राम्रा काम गरेको डकुमेन्ट्रीबाट थाहा पाएको उल्लेख गर्दै सहाराको योगदान सराहनीय रहेको बताए । उनले आगामी दिनमा पनि थप राम्रा काम गर्न सहारालाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिँदै त्यसमा नेपाली दूतावास लन्डनले हातेमालो गर्ने आश्वासन दिए ।
अध्यक्ष ले.रि. गुरुङले प्रमुख अतिथि, अतिथिसहित उपस्थित महानुभावलाई धन्यवाद दिँदै कार्यक्रम सफल पारिदिने सबै पक्षप्रति कृतज्ञता प्रकट गरे ।
सांस्कृतिक कार्यक्रमको चरणमा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ र 'विदेश जाने मायालु..' गीतका गायक दिपक थापाका परिवारले मीठा मीठा गीत गाएर मनोरञ्जन दिलाए ।
सांस्कृतिक कार्यक्रम सूर्य गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्ततिर सूर्य गुरुङले भाग्योदय चिट्ठा (राफल ड्र) सञ्चालन गरेका थिए । जसको विजेता तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बनेका थिए । राफल ड्रको प्रथम पुरस्कार १ तोला सुन रहेको थियो । जसको प्रायोजक न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट यूकेकी प्रोपाइटर लक्ष्मी राईले गरेकी थिइन् ।
यस्तै अजय थापाले प्रायोजन गरेको दोस्रो पुरस्कार २५० पाउन्ड जगना गुरुङले हात पारिन् भने बिमल गुरुङले प्रायोजन गरेको १ सय पाउन्डको तेस्रो पुरस्कार पूर्वडीएसपी वाचस्पति रेग्मीले प्राप्त गरे ।
कार्यक्रम बिट मार्नै लाग्दा सपन इन्टरटेन्टमेन्टका डाइरेक्टर सपनकुमार राईको गीत र अन्यको ककटेल डान्सले सहभागीलाई नाच्न उत्साह थपिदिएको थियो । गोर्खा मिडियाबाट उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।