लन्डन । लमजुङ समाज यूकेको च्यारिटी डिनर नाइट भव्यरुपमा सम्पन्न भएको छ । डा. हर्क गुरूङ प्रतिष्ठान लमजुङको सहयोगार्थ शनिबार ११ नोभेम्बर २०२३ मा अल्डरसटस्थित एम्पायर हलमा कल्याणकारी रात्रिभोज सम्पन्न भएको हो । समाजका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि थिए ।
कार्यक्रममा उपाध्यक्ष पूर्णराज गुरुङले स्वागत मन्तव्य राखेका थिए भने लमजुङ समाज यूके र स्वर्गीय डाक्टर हर्क गुरूङ प्रतिष्ठान लमजुङको बारेमा उपाध्यक्ष परशु गुरुङले संक्षिप्त भनाइ राखे । भूगर्भविद् डा. हर्क गुरुङको सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वड़ा नं. ७ तरांचे (तालिङचोक) मा स्व. डा हर्क गुरुङको घर र समाधिस्थल रहेको छ । वडावासीहरुको सक्रियतामा सुरूमा "डा हर्क स्मृति स्थल” नामकरण गरी ११औं स्मृति दिवसको अवसरमा स्थापना गरियो । यसलाई अझ विस्तार गराउन सन् २०१९ (वि.सं. २०७६) मा समाधिस्थल तथा प्रतिष्ठान स्थापना गरियो । करिब २८ रोपनी जग्गाको क्षेत्रमा पर्यटकीयस्थल बनाउने निर्माण समितिको योजना रहेको छ र निर्माण कार्य प्रारम्भ भइसकेको छ ।
यस समाधिस्थलमा यथासम्भव सबै कुराहरुले व्यवस्थित गराउने हेतुले गुरुङ शैलीको घर, पुस्तकालय, संग्रहालय, कार्यकक्ष, सभाहल, पार्क, बगैंचा, चमेना गृह, चौकीदार घर स्विमिङ पुल, शौचालय, आदि निर्माण गर्ने 'डिपिआर तय गरिसकेको छ । डीपीआरको अनुमान लागत रु. ६ करोडको योजना रहेको छ । स्थानीय सरकार र प्रदेश सरकारबाट पनि सहयोग पाउने क्रममा छ भने विभिन्न संघसंस्थाहरुबाट पनि सहयोग गर्ने आश्वासन पाइरहेको प्रतिष्ठानले जनाएको छ । जहाँ विशेषगरी स्थानीय जन श्रमदानको ठूलो भूमिका रहेको छ ।
लमजुङ समाजको शनिबारको कार्यक्रम उपाध्यक्ष जुना गुरूङको संयोजकत्वमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि राजदूत आचार्य, तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङ, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, आमा समूह अध्यक्ष माला घलेले मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रम समापनका क्रममा अध्यक्ष दलबहादुर गुरुङले उपस्थित प्रमुख अतिथि, अथिति र सबै सहभागी तथा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रम सञ्चालन सचिव कुमार गुरूङले गरेका थिए ।
कार्यक्रममा सदाझै नयाँ पुस्तालाई शिक्षाप्रति हौसला बढाउन यो वर्ष जीसीएसई र ग्रेजुएसन पास गरेकाहरूलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो । यस्तै सेना प्रहरीमा कमिसनिङ भएका र समाजमा अध्यक्ष निर्वाचित भएका व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । यस्तै 'सुन्दरबजार कटेशी कुन्छा' कोसेली पस्केका राजशन्ति सुनारलाई सम्मान गरिएको थियो ।
नेपालबाट आएका लोक तथा दोहोरी गायक/गायिकाहरु तिलकबहादुर गुरुङ, पुनम गुरुङलगायतको बेजोड प्रस्तुति रहेको थियो । त्यस्तै अर्को आकर्षणका रुपमा राफल ड्र क्या दिपक घले र उपाध्यक्ष परशु गुरुङले चलाएका थिए ।
सांस्कृतिक कार्यक्रमको संयोजन इन्द्रजीत गुरुङले गरेका थिए । उक्त कार्यक्रम हेलिसा गुरुङ र अनुप गुरुङ जोडदार ढंगले सञ्चालन गरेका थिए ।
आमा समूहहरु लमजुङे ठाडो भाका, आकर्षक नृत्य, हेलिसा र बिनु गुरुङको नृत्यले कार्यक्रमलाई रोचक पारेको थियो । त्यसक्रममा सहभागी विभिन्न संस्थाका अग्रज, अनुजसहित सर्वसाधारणहरु कार्यक्रममा पस्किएका गीत, संगीतमा निकै रमाएका थिए ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, ग्रेटर रसमुर नेपाली कम्युनिटी जीआरएनसीका अध्यक्ष तथा व्यवसायी मान गुरुङ, गोर्खा अभियन्ता पुष्पा राना घले, ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजंग गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, रिडिङ तमु समाज यूकेका अध्यक्ष रुद्रराज गुरुङ, चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेनकुमार गुरुङ, समाजसेवी शेर सुनार, जीत गुरुङ, तमु धीं लन्डन इकाइका अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष भरत लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बीबीएम टिभीका डाइरेक्टर बिशन गुरूङले भिडियो र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले फोटो खिचेका थिए ।