लन्डन । नेपाल रन यूकेले आइतबार लन्डनको नर्थला पार्कमा नर्थल्ट १० के इभेन्ट गरेको छ । इलियास अहमदले ३२ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गरी प्रथम भए । महिलातर्फ निकोला पेन्टी अल्विराजले ४४ मिनेट ४२ सेकेन्डमा पूरा गरेर प्रथम भइन् ।
त्यस्तै, पुरुषतर्फ द्वितीय र तृतीय स्थान पाएका क्रमशः सिमोन साहले ३४.१७ मिनेट र जोनाथ होराले ३४.५८ मिनेटमा दौड पूरा गरे ।
महिलातर्फ द्वितीय र तृतीय हुनेमा मान्दा गुरुङले ४४.४२ र क्लार मोरिसले ४६. ३१ मिनेटमा दौड समापन गरे ।
६० वर्ष बढी उमेर समूह सुपर भेट्रान पुरुषतर्फ स्टेफान प्लामर ३९.४० र लोराइन लेकेंबीले ६०.५८ मिनेट दौड पूरा गरे।
४० देखि ६० वर्ष उमेर समूहमा सिमोन ओसेया ३४.१७ मिनेट र सलिना राजभण्डारीले ३४.१७ मिनेटमा दौड पपूरा गरी प्रथम भए ।
नेपाल रन क्लबतर्फबाट पुरुषमा प्रकाश गुरुङ प्रथम भए । उनले ३५.१९ मिनेटमा दौड पूरा गरे । महिलातर्फ तेजमाया सिग्देलले ४७.२५ मिनेटमा समापन गरी प्रथम स्थान हासिल गरिन् ।
नेपाल रनको उत्कृष्ट दौड सुधारको पुरस्कार अमृत श्रेष्ठले प्राप्त गरे ।
अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त धाविका मीरा राईको विशेष आतिथ्यमा भएको नर्थल्ट १० के रनको प्रमुख प्रायोजक एस्टार फाइनान्सियल सोलुसन थियो ।
सहप्रायोजकमा मेकवर्थ एकाउन्टिङ, ट्राभल कन्सोल, रियल ड्रिम एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, किरांत राई यायोख्खा, एसएनपी प्लस एकाउण्टिङ, आईएमई लण्डन, धरान समाज लगायत थिए ।
रिमेम्बरेन्स डे अवसरमा आयोजित १० किमीको दौडमा ३ सय २० जना धावकले भाग लिएका थिए ।
समुदायमा स्वास्थ्य चेतना फैलाउन आयोजना गरिएको दौडमा मीरा राई इनिसिएटिभको सहयोगार्थ सहयोग संकलन पनि गरिएको थियो । कार्यक्रममा सहभागीलाई टिसर्ट, मेडल र प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार पनि प्रदान गरियो।
नेपाल रनका संयोजक पाण्डव महतोले नेपालीद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग पुगेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा सेतो पुतली अभियानका कलाकार मिलन राई, एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाँडे लगायत अतिथि पनि सहभागी थिए । कार्यक्रम संयोजन सन्तोष राईले गरेका थिए ।