लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको आयोजनामा चेलिबेटीहरुद्वारा माइतीको झल्को शुभदीपावली कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
आइतबार तमु धिं युकेको भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि चेलिबेटीका प्रमुख सल्लाहकार समाजसेवी नन्दाकुमारी गुरुङ, मेयर अफ मिडिवे काउन्सिलर नीना गुरुङ, कन्सोर्ट अफ मेयर ताइकाजी गुरुङ, अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवन गुरुङ, चेलिबेटी प्रमुख चन्द्रदेवी गुरुङ र संस्थापक चेली प्रमुख पूनम गुरुङले संयुक्त उद्घाटन गरे ।
प्रमुख अतिथि चेलिबेटीका प्रमुख सल्लाहकार समाजसेवी नन्दाकुमारी गुरुङ, मेयर अफ मिडिवे काउन्सिलर नीना गुरुङ, संस्थाका अध्यक्ष पिताम्बर गुरुङ, संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवन गुरुङ, संरक्षक ह.ले. चन्द्रबहादुर गुरुङ, संस्थापक चेली प्रमुख पूनम गुरुङ, ज्वाइँहरुको तर्फबाट तमु धिं युके अध्यक्ष हरि गुरुङ लगायतले शुभकामना मन्तव्य दिए ।
सबैभन्दा ज्येष्ठ चेली लक्ष्मी गुरुङले सबै जनालाई आशीर्वाद दिइन् । साथै, दाजुभाइलाई भाइटीका, मखमली माला, सयपत्री फूलको माला, शिरमा ढाकाटोपी, सगुनका मिठाइ प्रदान गरिन् ।
सामूहिकरुपमा दाजुभाइले चेलीबेटीलाई ३५ सय पाउण्ड दक्षिणा प्रदान गरे । सोही अवसरमा देउसी भैलोका गीतमा उनीहरु रमाएका थिए ।
यस्तै, विभिन्न संघसंस्थाका अध्यक्षमा नियुक्त दाजुभाइ, चेलिबेटी र ज्वाइँहरु सम्मानित भए । सो अवसरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र डिजे लेख रानालाई सम्मान गरिएको थियो । कार्यक्रमको संयोजक उपाचेली पन्चा गुरुङले स्वागत मन्तव्य गरेकी थिइन् । यसैबीच, ‘ह्याप्पी तिहार–२०२३’ अंकित केकसमेत काटेर ‘सेलिब्रेसन’ गरिएको थियो ।
संस्थाको नेपालस्थित केन्द्रलाई जग्गा खरिद र भवन निर्माण सहयोगार्थ मेयर अफ मिडिवे काउन्सिलर नीना गुरुङले १ हजार पाउण्ड सहयोग गरेकी थिइन् । मेयर गुरुङले संस्थाको आजीवन सदस्यतासमेत लिइन् ।
गोर्खा दरबारले खानपिनको प्रबन्ध गरेको कार्यक्रमकाे सञ्चालन सचिव लीना गुरुङले गरेकी थिइन् । चेलिबेटी प्रमुख चन्द्रदेवी गुरुङले बधाई तथा शुभकामना दिँदै सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गरिन्।
तस्बिरहरु सबैः गोर्खा मिडिया