लन्डन । बेलायतस्थित कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क यूकेले पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी प्रभावित परिवारहरुको सहयोगार्थ सहयोग संकलन अभियान सुरु गरेको छ ।
संस्थाका नेपाल शाखाका अध्यक्ष अरुणसिंह बस्नेतले पश्चिम रुकुम र जाजरकोटबाट टेन्ट, औषधि, खाद्यान्न तथा जाडोका लागि न्यानो कपडाको माग आइरहेको बताए । उनले भने, ‘हामीसँग स्थानीयस्तरमा स्वयंसेवी संस्था र स्वयंसेवकहरु हुनुहुन्छ । उहाँहरुको साथ र सहयोगबाट हामीले तत्काल राहत वितरण सुरु गर्न लागेका छौं ।’
त्यस्तै, हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले भूकम्प प्रभावितहरुलाई मन खोलेर सहयोग गर्न युके तथा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई आग्रह गरे।
हेल्प नेपालले विगतमा पनि महाभूकम्प होस् वा कोभिड महामारीमा पीडित परिवारसम्म आपतकालीन तथा मानवीय सहयोग पु¥याउँदै आएको छ । यसपालि पनि भूकम्प पीडितलाई सहयोग गर्न अपिल गरिएको छ ।
२०७२ को महाभूकम्पपछि संसारभरिका नेपालीहरुको सहयोगबाट हेल्प नेपाल नेटवर्कले झन्डै ६ हजार परिवारलाई आपतकालीन राहत वितरण गरेको थियो । साथै ६ ओटा अस्थायी स्वास्थ्य चौकीको निर्माण तथा ६ ओटा विद्यालयहरुको पुनर्निर्माणमा सघाएको थियो। त्यस्तै स्वास्थ्य शिविरहरु पनि संचालन गरेको थियो।
‘मातृभूमिको लागि महिनामा एक पाउण्ड वा एक डलर’ नारा दिएर सन् १९९९ मा बेलायतमा स्थापना गरिएको नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
हेल्प नेपाल नेटवर्क अमेरिका तथा हेल्प नेपाल नेटवर्क अष्ट्रेलिया शाखाले पनि सहयोग संकलन अभियान सुरु गरेका छन् । सबै प्रवासी नेपालीहरु तथा नेपालका मित्रहरुलाई तलको लिंकमा गई सहयोग गर्न सकिने जनाइएको छ । https://www.justgiving.com/page/nepal-earthquake-appeal-2023