लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानको आगामी कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएकाे छ । गत आइतबार ओपन जुम मिटिङमा आगामी कार्यक्रम कसरी प्रभावकारी ढंगले अगाडि बढाउने र सफल पार्ने भन्नेबारे छलफल भएको हो ।
जसमा नेपालबाट भूपू सैनिक कल्याणकारी समिति नेपालका सचिव अधिवक्ता चेत आले, यूकेका विभिन्न गोर्खाजन्य संस्थाका अध्यक्ष, प्रतिनिधि र अभियन्ताको उल्लेख्य सहभागिता थियो ।
भूपू सैनिक कल्याणकारी समिति नेपालका सचिव अधिवक्ता चेत आलेले वंशजको नागरिकता निरन्तरता अभियान सफल पार्न समितितर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता जनाए । उनले आफू पनि लाहुरे समाजसँग सम्बन्धित भएको हुनाले अभियानसँग आवद्ध गोर्खाहरुलाई चाहिने कानुनी सरसल्लाह र सहयोगको निम्ति कानुनी सल्लाहकार टिम पनि बनाउने जानकारी दिए ।
यस्तै, सिएनसिबिजिका सल्लाहकार मे.रि. विरु सुनुवार, एनआरएनए अध्यक्ष प्रेम गाहामगर, नेफिन अध्यक्ष कर्मा पहाडी शेर्पा, तमु धिं यूके अध्यक्ष हरि गुरुङ, सिएनसिबिजि उपाध्यक्ष खड्क बुढामगर, बिइएम १९७२ फस्ट ब्याच अध्यक्ष नारायणप्रसाद गुरुङ, मगर संघ यूके सल्लाहकार क्या.रि. वीरबहादुर थापा, ब्रिटिस गोर्खा नेप्लिज कम्युनिटीका सन्तबहादुर गुरुङ, मगर शाखा वेल्स पूर्व अध्यक्ष क्या.रि. भक्त थापा, कोशोभो तमु समाज यूकेका दीर्ग गुरुङ, सिएनसिजिबि सल्लाहकार प्रेम तामाङ, सिएनसिबिजि सल्लाहकार क्या.रि.डेमबहादुर गुरुङ, गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो अध्यक्ष मणिराज जोल्मी, सिएनसिबिजि सल्लाहकार क्या.रि. रणध्वज राना, सिएनसिबिजि वेल्स कोअर्डिनेटर महादेव थापा, धन गुरुङ र जयचन्द्र नेपाल लगायतले नागरिकता अभियानबारे धारणा राखेका थिए ।
मिटिङमा उपस्थित हुन नसके पनि गेसोको संस्थापक अध्यक्ष पदमबहादुर गुरुङ, नेसा अध्यक्ष केशबहादुर गुरुङले पूर्व ऐक्यबद्धता जनाएका थिए भने बिजिडब्ल्युएस अध्यक्ष टिकेन्द्र दल देवानले इमेल पठाएर ऐक्यबद्धता जनाए ।
नेपाली नागरिकता ऐन २०६३ को दफा १०(१) ले कुनै नेपाली नागरिकले ६ महिनाभन्दा बढी समय विदेशमा बिताउँछ भने उसलाई गैरआवासीय नेपाली भनेर परिभाषित गरेको छ । त्यसैले आज भुटानी शरणार्थीले जे भोगिरहेका छन्, त्यस्तो समस्या भोलि हाम्रा सन्ततिहरुले भोग्नु नपरोस् भनेर सिएनसिबिजिले नागरिकता निरन्तरताको अभियान सुरु गरेको हो ।
सिएनसिबिजिले यसअघि नेपाल सरकार प्रमुख र विभिन्न जिम्मेवार मन्त्रालयमा गोर्खा र निजका सन्ततिहरुको वंशजको नागरिकता निरन्तरता हुनुपर्छ भनेर ज्ञापनपत्र बुझाइसकेको छ ।
सिएनसिबिजि अध्यक्ष थर्क रानाले नेपाल सरकारलाई थप दबाब दिन ६ वटा ‘स’ सहित विभिन्न अवधारणा बनाएका छन् । जसमा भावी कार्यक्रम समाज, सांसद, सरकार, सदन, सडक संघर्ष, सर्वोच्च र अन्तर्राष्ट्रिय अदालत छन् ।
सिएनसिबिजिले उल्लिखित अवधारणाअन्तर्गत सबै किसिमको उपाय प्रयोग गर्दै आगामी कार्यक्रमलाई अगाडि कोशिस गरेको जनाएको छ । साथै सबै गोर्खा र गोर्खाहरुसँग आवद्धलाई सिएनसिबिजिको ‘गोर्खाली हाम्रो पहिचान, वंशजको नागरिकता निरन्तरता, हाम्रो अभियान’ सँग जोडिएर आफ्नो र आफ्ना सन्ततिको वंशजको नागरिकता सुनिश्चित गर्न यही २५ नोभेम्बरमा अल्डरसटको एम्पायर हलमा उपस्थित भई ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।