सम्पन्नको चाहले
डोरिई गयौ
भन्छन् मलाई
विदेशी भयौ ।
भन्छन् नलेख्नू
कविता हिमालको
नगाउनू अरे
गीत नेपालको ।
टेक्छु, देख्छु
मनले स्वदेश
रहरले हैन
कहरले विदेश ।
समस्याका यी
पहाड फोर्दै
जीवनको
गन्तव्य कोर्दै ।
परदेशी हुन
परेको हेर
कस्तो भाग्य र
रहेछ तक्दिर ।
नगर भन्छन्
माया र झल्को
नगाउनू अरे
गीत नेपालको ।
लेक र बेंसी
पारि वन पाखा
गुञ्जने झरना
सुन्दर भाका ।
ती हिमालबाट
बहेको नदी
देख्छु म सधैं
सपनामा हो कि ।
यो मनले खोज्छ
स्वदेशी माटो
भाग्यले डोरायो
विदेशी बाटो ।
पीडाले मेरो
स्वाभिमान दुख्छ
अतृप्त चाहना
मनमा सुक्छ ।
परदेशी लाहुरे
नभन्नू मलाई
असंख्य हुरीले
चुटेकालाई ।
भो अब त पुग्यो
फर्कन्छु घर
यो परदेशमा
के बस्नु छ र
यो परदेशमा
मेरो को छ र ?