पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनलाई त्यहाँ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी लगायतले भव्य स्वागत गरे ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनलाई स्थानीयवासीले झाँकी र पञ्चेबाजासहित भव्य स्वागत गरे ।
गाउँपालिका अध्यक्ष केसीले महासचिव गुटेरेसलाई जलवायु परिवर्तनका कारण समग्र असरबारे जानकारी गराए । यस्तै, अन्नपूर्ण गाउँपालिका वडा १ का अध्यक्ष हिमबहादुर गुरुङले सानो खर्कमा पशु चौपाया चराउन जाँदाको आफ्नो अनुभव सुनाए ।
सो अवसरमा महासचिव गुटेरेसले नेपाललका कारण नभई विकसित देशका कारण जलवायु परिवर्तनको असर परेको बताए । उनले नेपालको हिमाली भागमा दिनप्रतिदिन हिउँ पग्लिरहेको लगायतका समस्या अन्तर्राष्ट्रिय फोरममा उठाउने पनि आश्वासन दिए ।
चार दिने नेपाल भ्रमणका क्रममा सोमबार पर्यटकीय नगरी पोखरा आएका थिए । उनी मंगलबार नै लुम्बिनी प्रस्थान गरी काठमाडौं पुगेर संसदलाई सम्बोधन गर्ने कार्यतालिका छ ।
उनी सोमबार दिउँसो सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए । गण्डकी प्रदेशको राजधानी पोखरामा उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गरेका थिए ।
विमानस्थलमा स्वागतपछि उनी फिस्टेल लज गएर केहीबेर आराम गरी धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटस्थित विशाल महादेव मूर्तिको अवलोकन गरे भने केही समय फेवातालमा बोटिङ पनि गरे । विगतमा पनि पोखरा आएको स्मरण गर्दै उनले पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिए । उनी गएराति फिस्टेल लज बसेका हुन् ।