काठमाडौं । लोक तथा दोहोरी गायक सन्तराज बिक र सञ्चारकर्मी भावना लम्साललाई गोर्खा मिडियाले सम्मान गरेको छ ।
गोर्खा मिडिया लिमिटेड बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको पुरस्कार तथा सम्मान सोमबार काठमाडौंमा एक समारोहबीच गायक बिक र सञ्चारकर्मी लम्साललाई प्रदान गरिएको हो । गायक र सञ्चारकर्मीद्वयलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का निवर्तमान संघीय अध्यक्ष एवं वरिष्ठ पत्रकार डण्ड गुरुङ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ, साइकोलोजी काउन्सलर मास्टर हिलर राजी श्रेष्ठ गुरुङ र गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले खादा, प्रमाणपत्र र नगद प्रदान गरे । दुवै जनालाई जनही १० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।
दोहोरी गायक बिक देवघाट-१ तनहुँमा जन्मिएका हुन् । उनले पहिलो एल्बमको रुपमा 'पछेउरी ओढुला' गीत गाएका थिए । पोखरा दोहोरी साँझ रेस्टुरेन्टमा कार्यरत बिक लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको सहकोषाध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । लाइभ दोहोरीमा माहिर मानिने बिक झण्डै एक दशकदेखि यो क्षेत्रमा पूर्णकालीन रुपमै लागिरहेका छन् ।
धादिङको मुलरीभन्ज्याङ-७ मा जन्मिएकी सञ्चारकर्मी लम्साल टेलिभिजन, अनलाइन र रेडियो पत्रकारितामा अनुभवी छिन् । उनी विगत डेढ दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।
कार्यक्रममा मन्तव्य राख्दै फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङले गोर्खा मिडियाको स्थापनाकालदेखि नै आफू सँगसँगै रहेको अवगत गराउँदै आफूलाई कहिलेकाहीं सञ्चालक नै हुँ कि जस्तो अनुभूति हुने गरेको बताए । समाचार सामग्री के-कस्तो राख्ने, कसरी अगाडि बढ्ने जस्ता विषयमा बेला बेलामा प्रबन्ध निर्देशक मिलन तमु र आफूबीच सल्लाह हुने गरेको उल्लेख गर्दै पत्रकार गुरुङले आफ्नो केही योगदान गोर्खा मिडियामा रहेको बताए । समाजमा चेतना दिने, जागरण ल्याउने र समाचार सम्प्रेषण गर्ने काममात्रै नगरी गोर्खा मिडियाले पृथक् रुपमा स्रष्टाहरुलाई सम्मान गर्नु सराहनीय काम भएको उनले बताए ।
नेपाल वा विदेशमा स्थापित मिडियाहरुले यस्ता काम कमै मात्र गर्ने गरेको भन्दै पत्रकार गुरुङले गोर्खा मिडियाले सामाजिक उत्तरदायित्व निर्वाह गरेको धारणा राखे । अहिले फेसबुकलगायत सामाजिक सञ्जालमा केही विषय लेख्ने र फोटो राखेर प्रचार गर्ने शैलीलाई बदल्दै गोर्खा मिडियाले आधिकारिक अनलाइन मिडियासम्म बेलायतवासी नेपाली समुदायलाई डोर्याउने भूमिकासमेत खेलेको बताए । तीन वर्षको अवधिमै गोर्खा मिडिया स्थापित भएकोमा खुसी व्यक्त गर्दै उनले यसको श्रेय बेलायतका नेपाली समुदायलाई जाने उल्लेख गरे ।
मिडियाको स्थापनामात्रै नभई निरन्तरता हुनु जरुरी रहेकोमा उनले जोड दिए । नेपालसहित विश्वका मिडियाहरु संकटमा रहे पनि गोर्खा मिडिया व्यापारिक कम्पनीमा निर्भर नरही समुदायकै सपोर्ट रहेकोले टिकाउ हुनेमा उनले विश्वास व्यक्त गरे । पत्रकार गुरुङले तेस्रो वार्षिकोत्सव मनाएकोमा बधाई दिँदै आगामी दिनमा गोर्खा मिडिया अझ सशक्त बनोस् भन्ने शुभकामना व्यक्त गरे ।
यस्तै अतिथि मास्टर कनसियोस कोच इन्द्र गुरुङले गोर्खा मिडियामार्फत नेपालका विभिन्न क्षेत्रमा योगदान दिनेहरुलाई चिनेर रिकग्नाइज गरेर हौसला प्रदान गराइरहेको भन्दै प्रशंसा गरे । उनले सम्मानित व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिँदै गोर्खा मिडियाको समेत थप सफलताको कामना गरे ।
गायक सन्तराज बिकले आफ्नो जिन्दगीमै पहिलो सम्मानस्वरुप गोर्खा मिडियाले प्रदान गरेकोमा खुसी व्यक्त गर्दै प्रबन्ध निर्देशक मिलन तमुसहित टिमलाई धन्यवाद दिए । आफूलाई माया गरेर ठूलो सम्मान दिएकोले गोर्खा मिडिया र यसको टिमलाई कहिल्यै नभुल्ने उनको वाचा थियो ।
अर्का सम्मानित व्यक्ति भावना लम्सालले आफूलाई गोर्खा मिडियाले दिएको अवसरप्रति आभार प्रकट गरिन् । पत्रकार लम्सालले गोर्खा मिडियाको तेस्रो वार्षिकोत्सवसम्म सहकार्य जारी राख्न पाउँदा गौरव महसुस भएको भन्दै आउँदा दिनमा पनि यस मिडियासँग जोडिराख्ने अपेक्षा राखिन् ।
कार्यक्रम समापनका क्रममा सहसम्पादक प्रकाश गुरुङले नेपाल टिम र पत्रकारितामा दक्ष अग्रहहरुको सपोर्टबिना गोर्खा मिडिया अघि बढ्न नसक्ने भन्दै सधैं सहयोग, सुझाव र प्रतिक्रिया आवश्यक रहेको बताए । उनले सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गर्दै सानो मिडियाको हैसियतले थोरै राशि पुरस्कार प्रदान गरिएको र मिडिया बलियो हुँदै गएमा भविष्यमा पुरस्कार राशि बढाउने वचनबद्धता व्यक्त गरे । यो मिडिया निरन्तर चल्ने भएकोले भावी कार्यक्रममा पनि सहभागी हुने उनको अपेक्षा थियो ।
गोर्खा मिडियाको न्यूज सेयर, पेज लाइक, फलवर्सको संख्या उल्लेख्य रहेको भन्दै सहसम्पादक गुरुङले यसमा पाठक, दर्शक र विज्ञापनदाताको निरन्तर सहयोगको कारण रहेको बताए ।
कार्यक्रममा पत्रकार टीकाराम तामाङ, भिडियो सम्पादक सागर तामाङ, वासुदेव श्रेष्ठ, रोनाल्ड गुरुङलगायतको उपस्थिति थियो ।
'सूचना र सामाजिक सेवा सँगसँगै' अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ तारिखमा स्थापना भएको हो । यस वर्ष बेलायतमा गत सेप्टेम्बर १७ मा काउन्सिलर जीत रानाभाटको प्रमुख आतिथ्यतामा तेस्रो वार्षिकोत्सव मनाइएको थियो । अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आयोजित वार्षिकोत्सव समारोहमा समाजसेवातर्फ राजन खकुराल, साहित्यकार माया गुरुङलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा घोषणा गरेअनुसार स्रष्टा सम्मानतर्फ लोकदोहोरी गायक रामजी पौडेललाई केही महिनापछि कास्कीको पोखरामा एक कार्यक्रमबीच पुरस्कार दिइनेछ ।
बेलायत, गोर्खा समुदायलाई फोकस गर्दै जनचासोका समाचार र विचार समेट्दै अघि बढेको यस मिडियाले विज्ञापनमार्फत संकलित रकम अफिस सञ्चालन र विपन्न व्यक्ति/परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनुका साथै शिक्षा, संस्कृति तथा कलाकारितामा समेत टेवा पुर्याउँदै आएको छ । पहिलो वार्षिकोत्सवको अवसरमा जनही १० हजार पुरस्कार राशिसहित 'गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान' बाट पुराना कलाकार नन्दा पुनमगर र गजेन्द्र गुरुङलाई सम्मान गरिएको थियो ।
दोस्रो वार्षिकोत्सवमा समाजसेवातर्फ 'माइला-कान्छा अभियान बेलायत'मार्फत आर्थिक अवस्था कमजोर भएका व्यक्तिको औषधोपचार सहयोग, बाढीपीडित, कोरोना महामारीपीडितलाई राहत, शिक्षालयमा छात्रवृत्ति, अक्षय कोष स्थापनालगायत क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदरस्वरुप पार्वती गुरुङ माइला र माया गुरुङ कान्छालाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
'गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान' तर्फ वरिष्ठ लोकगायक तनहुँका कृष्ण थापामगर र उदीयमान सेलो गायिका सिन्धुलीकी अन्जु थोकर लामा जनही १० हजार राशि, सम्मानपत्रसहित पुरस्कृत भएका थिए । समाचार सम्प्रेषण अलावा गोर्खा मिडियाले शिक्षा र विपन्न वर्ग तथा पीडितलाई सहयोग गर्दै आएको छ ।