लन्डन । शनिबार २१ अक्टोबर २०२३ अल्डरसल्टस्थित एम्पायर हलमा तमु धीं युकेद्वारा आयोजना गरिएको आजीवन सदस्य रात्रिभोज कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको मुख्य आकर्षण वर्षभरिमा संस्थाका लागि अतुलनीय योगदान गरेका केही सदस्यहरुलाई 'आदर्श तमु अवार्ड' बाट सम्मानित गरिनु थियो । यस वर्ष सम्मानित हुनेहरुमध्येमा क्या. रि. जीवनकुमार गुरुङ पनि एक हुन् ।
क्या. गुरुड पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङ, चनौटे निवासी बाबा धनबहादुर गुरुङ र आमा कर्णकुमारी गुरुङको कोखबाट सन् १९५०, नोभेम्बर २० तारिख मलेसिया सुंगाइ पटानीमा जन्मेका हुन् । बुबा ब्रिटिस गोर्खा सेनामा कार्यरत भएका बेला जन्मेका क्या. जीवनले १२ वर्षसम्मको उमेर कहिले विदेश र धेरैजसो आफ्नै गाउँ पर्वत, चनौटेमा बिताए । उनले प्रारम्भिक शिक्षा आफ्नै गाउँमा सुरुआत गरी हाईस्कुलको पढाइ बहुउद्देश्यीय माध्यमिक विद्यालय, टुँडिखेल पोखराबाट पूरा गरेका हुन् ।
गुरुङ समाजको चलनअनुसार ब्रिटिस गोर्खा सेनामा भर्ती लाग्नु सबैभन्दा उत्तम जागिरको रुपमा लिइन्थ्यो । लक्का जवान, हाईस्कुलसम्मको पढाइ पनि पूरा गरेका र सैनिक भर्तीमा चाहिने योग्यता पूर्ण भएका जीवन गुरुङ १९६८ सालमा भर्ती भए । १८ वर्षको उमेरमा कडा सैनिक तालिम पूरा गरी २/२ गोर्खा राईफलका सदस्य बने । उनको लगनशीलता, अनुशासन र योग्यताको फलस्वरुप प्रमोसन हुँदै क्याप्टेन पदसम्म पुग्न सफल भए । २६ वर्षको उदाहरणीय सैनिक सेवा पूरा गरी १९९४ सालमा अवकाश लिए ।
सेनाबाट आवकाश भएपछि गुरुङले सामाजिक सेवामा सक्रिय भूमिका निभाएको देखिन्छ । पछिल्लो समय तमु धीं युकेमा सक्रिय सल्लाहकार रहेर धेरै मद्दत पुर्याएको आधारमा आदर्श तमु अवार्डबाट सम्मानित गरिएको हो । तमु धींबाहेक क्या. गुरुङ दुर्लुङ समाज युकेको निर्वतमान अध्यक्ष, कोने (घोताने/घोन्डे) तमु समाज युकेका संरक्षक, पचकुइरोहन भाइखलक कोने भाइखलक युकेका अध्यक्ष साथै रंगजंग येशे ओडियाना युके बौद्ध केन्द्र फानबोरोका अध्यक्ष हुन् ।
समाजसेवाबाहेक फुर्सदको समयमा हाइकिङ गर्न रुचाउने क्या. गुरुङले आफ्नो पुर्ख्यौली गाउँ दुर्लुङमा मेडिकल सेन्टरको स्थापना, शिक्षा, खानेपानी, सरसफाइ आयोजना, गाउँको विद्यालयमा आइटी उपकरण उपलब्ध गराउनुमा सक्रिय भूमिका निभाएका छन् । साथै भविष्यमा प्रसूति गृह पनि निर्माण गर्ने चाहना रहेको उनी बताउँछन् ।
श्रीमती दुर्गादेवी गुरुङ, छोरा चन्द्रकुमार गुरुङ, छोरी लक्ष्मीदेवी गुरुङ, बुहारी निशा गुरुङ र नातिनातिनीहरुसँग सन् २००६ सालदेखि फानबोरोमा बस्दै आएका छन् ।