लण्डन । एनआरएनए यूकेले वेल्स राज्य समन्वय परिषद्को सहकार्यमा कार्डिफमा दसैं विशेष कार्यक्रम गरेको छ ।
पञ्चेबाजासहित सांस्कृतिक माहोलमा आयोजित कार्यक्रममा सयौं सहभागी थिए । प्रवेशद्वारमा अतिथिलाई पञ्चेबाजा बजाउँदै स्वागत गरिएको थियो ।
परिषदका अध्यक्ष मोतिप्रसाद पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र स्थानीय समाजसेवी झलक गर्बुजाले संयुक्तरुपमा गरेका थिए ।
कार्यक्रममा गाहामगरले दसैं शुभकामना दिंदै उत्साहजनक उपस्थितिका लागि सबैप्रति विशेष आभार ब्यक्त गरे । उनले नेपाली चाडपर्व र कला संस्कृतिको जगेर्नामा आफ्नो संस्था सधैं क्रियाशील रहने पनि बताए । एनआरएनए यूकेले वेल्समा आफ्नो बेग्लै साम्राज्य खडा गरेको र यो झन् मजवुत बन्दै गएको उनको भनाइ थियो ।
कार्यक्रममा परिषद् अध्यक्ष मोतिप्रसाद पुन, एनआरएनए यूके उपाध्यक्ष अमृत घले, एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा, संरक्षक डेविड गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, समाजसेवी झलक गर्बुजा लगायतले शुभकामना दिएका थिए।
धौलागिरी नौमति बाजा घन्किएको कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु देवी घर्ती र ईश्वर सिंहले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रवक्ता लक्ष्मी तामाङले संचालन गरेको कार्यक्रममा स्थानीय वेल्सवासी र इङ्ल्यान्डका नेपालीको समेत उल्लेख्य सहभागिता थियो ।