लन्डन । तमु धीं युकेको आजीवन सदस्य रात्रिभोज भव्य रुपमा सम्पन्न भएको छ ।
२१ अक्टोबर २१ अक्टोबर २०२३ (कात्तिक ४ गते) अल्डरसटस्थित एम्पायर हलमा उक्त रात्रिभोज सम्पन्न भएको हो । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको लाइफ मेम्बर डिनर नाइटमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए । राजदूत पत्नी, दूतावासका सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदारलगायत अतिथिहरुलाई पाइपर धुनसहित तमु धींका पदाधिकारी र सदस्यहरुले स्वागत गर्दै हल प्रवेश गराइएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङले दिएका थिए । कार्यक्रम सञ्चालन कार्यवाहक महासचिव विमल गुरुङ र हेलिसा गुरुङले गरेका थिए । स्वास्थ्य तथा सुरक्षाका विषयमा कुमार घलेले ब्रिफ गरेका थिए ।
प्रमुख अतिथि आचार्य, अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ लगायतले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटनपश्चात् नेपाली र ब्रिटेनको राष्ट्रिय गान बजाइएको थियो । लगत्तै केही साताअघि मात्रै दिवंगत भएका आजीवन सदस्य तथा आदर्श तमु अवार्ड धनबहादुर गुरुङ, तमु धीं यूकेका आजीवन सदस्य, सल्लाहकार तथा चारभन्ज्याङ तमु समाज यूकेका निवर्तमान अध्यक्ष मदनप्रसाद गुरुङकी धर्मपत्नी चन्द्राकुमारी गुरुङलगायतको नाममा मौन धारण गरिएको थियो ।
कार्यक्रममा सयपत्री नृत्य समूहले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने नेपालबाट आमन्त्रित गायक तिलक गुरुङले गीत गाएका थिए । त्यसपछि साहित्यकारहर सुमलकुमार गुरुङ र माया गुरुङलाई उनीहरुले समाजमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको थियो ।
तमु धीं यूकेको वेस्ट तमु ड्रेस महिला, पुरुषबीच प्रतिस्पर्धा गराइएको थियो । त्यसमा महिलातर्फ प्रथम शान्ति गुरुङ र रनरअपमा तमु प्ये ल्हु संघका आमा प्रमुख चन्द्रकुमारी गुरुङ भएका थिए । पुरुषतर्फ प्रथम र द्वितीय बाबाछोरा भएका थिए । छोरा जोग्रेसन गुरुङ प्रथम र बाबा टेकबहादुर गुरुङ द्वितीय बने ।
नयाँ आजीवन सदस्यहरुलाई स्वागत गरिएपछि राफल ड्र सञ्चालन गरिएको थियो । आमा समूहले नेपालमा हुने न्यानो ल्होछारका लागि सहयोग जुटाउनका लागि राफल ड्र सञ्चालन गरेको थियो । त्यसपश्चात् आदर्श तमु अवार्ड पाउनेहरुको नाम घोषणा गरिएको थियो । सल्लाहकारहरु श्रीचन्द्र गुरुङ (दक्षिणपूर्व तमु धीं प्लमस्टिडका पूर्वअध्यक्ष) चन्द्रबहादुर गुरुङ (तमु धीं लन्डन इकाइका निवर्तमान अध्यक्ष), एबी गुरुङ, क्या जीवन गुरुङ, आजीवन सदस्य (दक्षिणपूर्व तमु धीं प्लमस्टिडका पूर्वउपाध्यक्ष), माइला कान्छा अभियानकी अभियन्ता पार्वती गुरुङ (माइला) लाई आदर्श तमु अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड पाउनेहरुको व्यक्तित्वबारे कार्यक्रम सञ्चालकद्वय विमल र हेलिसाले सुनाएका थिए ।
सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव साधुराम गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राजदूत आचार्यले तमु धीं यूकेले विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । यस्तै संस्थापक अध्यक्ष मिनप्रसाद र तमु प्ये ल्हु संघका अध्यक्ष रनबहादुरले कार्यक्रमबारे संक्षिप्त मन्तव्य राखेका थिए ।
अन्त्यमा अध्यक्ष हरि गुरुङले कार्यक्रम सफल पारिदिएकोमा उपस्थित अतिथिहरु र सहभागी तथा कार्यसमितिलाई धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।