लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेको छ ।
नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका शर्मा र श्रेष्ठले आइतबार नयाँ कार्यसमिति घोषणा गरेका हुन् । शर्मा अध्यक्ष बनेका छन् । यसअघि अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । जसलाई अध्यक्षका प्रतिस्पर्धीद्वय शर्मा र श्रेष्ठले अस्वीकार गरेका थिए ।
शर्मा अध्यक्ष रहेको एनआरएनए कार्यसमिति उपाध्यक्षमा केशव पौडेल, राज रेग्मी, खगेन्द्र न्यौपाने, सुनिल शाह, नारायण आचार्य, गोविन्द श्रेष्ठ र गंगाधर गौतम रहेका छन् । उपाध्यक्षमा महिलातर्फ रोजिना प्रधान राई तथा युवा उपाध्यक्षमा अबदुल वासिदलाई चयन गरिएको छ ।
महासचिव बुद्धिसागर सुवेदीलाई बनाइएको छ भने तीन उपमहासचिवमा प्रविन गुरुण, सोम सापकोटा र प्रमोद सिटौला रहेका छन् । सचिवमा लोक दाहाल, कृष्ण गिरी, टंक गैरे, लोक दाहाल, केपी सिटौला, दयानिधी सापकोटा, मनोज गोर्खाली, स्वतन्त्रप्रताप सिंह, राजेन्द्र पुडासैनी र भीम केसी रहेका छन् । महिला सचिवको जिम्मेवारी विमला सापकोटाले पाएकी छन् ।
शर्मा नेतृत्वको एनआरएनएको कोषाध्यक्षमा ठाकुर ढुंगाना र सहकोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा र तृष्णा शर्मा रहेका छन् ।
महासिचव सुवेदीले एनआरएनएको ११ औँ महाधिवेशन असहज परिस्थितिमा सम्पन्न भएको जनाएका छन् । उनले अनलाइन भोटिङमा गम्भीर त्रुटि देखिएको र छानबिन गर्ने सहमति गरेर बद्री केसीले शपथ लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।