लन्डन । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर राष्ट्र राईको अन्त्येष्टि गरिएको छ ।
राईको शुक्रबार किराती परम्पराअनुसार रोचेस्टरस्थित फोर्टपिट मिलिटरी सिमेन्ट्रीमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि मेडिस्टोनको ग्यारिजन चर्चमा अन्तिम श्रद्धाञ्जलीका लागि राईको पार्थिव शरीर राखिएको थियो । त्यसक्रममा ३६ इन्जिनियर रेजिमेन्ट क्विन्स गोर्खा इन्जिनियरमा कार्यरत ब्रिटिस गोर्खाहरुको सहभागिता थियो । गोर्खा सेनाको डफ्फाले मास्टर राईको पार्थिव शरीलाई हर्सबाट ग्यारिजन चर्चभित्र पाइपरको धुनसँगै लगेको थियो ।
राईको शवमा सगरमाथा तेक्वान्दो डोजाङको लोगो अंकित झन्डा ओढाइएको थियो । अन्त्येष्टि कार्यक्रममा मिडवे काउन्सिलका मेयर नीना गुरुङ, मृतक राईका शुभचिन्तक, आफन्त, साथीभाइहरु र बेलायतमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरु गरी करिब १ हजार ३ सय जना उपस्थित थिए । ३६ इन्जिनियर रेजिमेन्ट क्विन्स गोर्खा इन्जिनियरको कमान्डिङ अफिसर लेप्टिनेन्ट कर्णेल क्यास्ट्रोल, आरएसएम र गोर्खा मेजर गोविन्द रानाका साथै कार्यरत अधिकृतहरु उपस्थित थिए ।
झण्डै साढे १ घण्टाको श्रद्धाञ्जली कार्यक्रम सकिसकेपछि पार्थिव शरीरलाई हर्समै राखेर अन्त्येष्टिका लागि फोर्टपिट मिलिटरी सिमेन्ट्री रोचेस्टरमा लगिएको थियो । त्यहाँ पनि सयौंको संख्यामा शुभचिन्तकहरुको उपस्थिति थियो ।
राईको अन्त्येष्टि कार्यक्रम मेडिस्टोन गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष क्या मोहनकुमार तामाङको संयोजकत्वमा भएको थियो ।
ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) का सक्रिय सदस्य तथा ग्रान्ड माष्टर राईको गत २१ सेप्टेम्बर २०२३ मा निधन भएको थियो । राई आर्मीका फिजिकल इन्स्ट्रक्टर एवं तेक्वान्दो सिक्स्थ डान मास्टर थिए । साथै उनी एनआरएनए यूके स्पोर्टस् को–अर्डिनेसन काउन्सिलका संयोजक थिए । उनी गोर्खालीका एक धरोहर, निडर, स्पष्ट वक्ता, बहुमुखी प्रतिभाशाली राई चित्रकार पनि थिए ।
पूर्वबेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।