काठमाडौं । गैरआवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसीप प्रदान गरेको छ । संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समीक्षा गर्न ६ विषयमा फेलोसीप प्रदान गरिएको हो ।
गैरआवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार थर्ने ६ पत्रकारलाई काठमाडौंमा पत्रकार सम्मेलन गरी फेलोसीप प्रदान गरिएको हो । फेलोसीपबाट प्राप्त रिपोर्ट गैरआवासीय नेपाली संघको विशेष प्रकाशनमा छापिएका छन् ।
फेलोसीप पाउनेमा लन्डन निवासी नवीन पोखरेल छन् । नेपाली भाषा र साहित्य प्रवर्धनका लागि विदेशमा रहेका नेपाली समुदायको योगदान विषयमा कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेलले रिपोर्ट तयार गरेका छन् ।
यस्तै, रातोपाटी डटकमका राजकुमार सिग्देल पनि छन् । उनले विगतदेखि वर्तमानसम्म परोपकारी काममा गैरआवासीय नेपाली संघको भूमिका विषयमा रिपोर्ट तयार गरेका छन् ।
गएको २० वर्षमा गैरआवासीय नेपालीले आर्थिक प्रवर्धनका क्षेत्रमा गरेको योगदान तथा प्रविधि हस्तान्तरणको विषयमा नेपालखबरडटकममा आवद्ध पत्रकार वसन्त अर्यालले उजागर गरेका छन् ।
कान्तिपुर टेलिभिजनकी पत्रकार अञ्जना लामिछानेले गैरआवासीय नेपालीहरूका लागि ल्याइएका हालसम्म भएका नीतिगत तथा कानूनी व्यवस्था र उपलब्धिहरु जस्तै, एनआरएनए ऐन, एनआरएनए नागरिकता, मताधिकार एनआरएन इन्भेष्टमेन्ट आदि विषय लेखेकी छन् ।
ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध अंगराज न्यौपानेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि संघ र नेपाल सरकारको समन्वयमा भएका नीतिगत सुधारहरु, संघको भूमिका तथा अब गर्नुपर्ने पहलको विषयमा रिपोर्ट लेखेका छन् ।
अन्नपूर्ण पोष्टकी तारा चापागाईंले गैरआवासीय नेपाली अभियानमा महिला र युवाहरुको सहभागिता तथा योगदान विषय समेटेकी छन् ।