लन्डन । डा. हर्क गुरूङ प्रतिष्ठान लमजुङको सहयोगार्थ बेलायतमा कल्याणकारी रात्रिभोज (च्यारिटी डिनर नाइट) हुँदै छ ।
लमजुङ समाज यूकेको आयोजनामा आउँदो ११ नोभेम्बर २०२३ शनिबारमा रात्रिभोज हुन लागेको हो । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा दिउँसो २ देखि राति ११ बजेसम्म हुनेछ ।
'स्वर्गीय डाक्टर हर्क गुरूङ प्रतिष्ठान लमजुङको सहयोगार्थ, लमजुङ समाज युकेको पहिलो कल्याणकारी रात्रिभोज (Charity Dinner Night) उपाध्यक्ष श्रीमती जुना गुरूङको संयोजकत्वमा यही आँउदो ११ नोभेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुन गइरहेको छ । तसर्थ संयोजकज्यूको तर्फबाट हजुरहरूलाई निम्न अनुरोध गर्न चाहन्छौं,' सचिव कुमार गुरूङले भने ।
कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी गायक/गायिकाहरु तिलकबहादुर गुरुङ, पुनम गुरुङलगायतको प्रस्तुति रहने जनाइएको छ ।
च्यारिटीमा यदि ५० पाउन्ड वा माथिल्लो रकम सहयोग गरेमा धन्यवादस्वरूप एउटा प्रवेश टिकट उपहार दिइने आयोजकले जनाएको छ । त्यसरी नै १०० पाउन्ड वा माथि रकम दिएमा दुईवटा टिकट उपलब्ध गराइनेछ ।
कार्यक्रममा सदाझै नयाँ पुस्तालाई शिक्षाप्रति हौसला बढाउन यो वर्ष जीसीएसई र ग्रेजुएसन पास गरेकाहरूलाई प्रमाणपत्र दिएर सम्मान गरिने छ । त्यसका लागि विद्यार्थीको नाम, स्कुल युनिभर्सिटी र उनका बाबाआमाहरूको विवरण सचिवलाई तुरून्त दिन संयोजक गुरुङले अनुरोध गरेकी छन् ।
यस्तै सेना प्रहरीमा कमिसनिङ भएका र कुनै समाजमा अध्यक्ष निर्वाचित भएका व्यक्तिहरूको नामावली र विवरण पनि जानकारी गराउन भनिएको छ ।
सचिव गुरुङले रात्रिभोजको दिनमा आजीवन सदस्य बन्न सक्ने र साधारण सदस्य शुल्क पनि तिर्न सकिने जनाए । कार्यक्रममा आजीवन सदस्य बनिसकेकाहरुको ब्याज पनि वितरण गरिनेछ। साथै लमजुङ समाजको स्योरा रकम बुझाएर आफूलाई स्योरा अभियानमा सहभागी पनि गराउन सकिने सचिव गुरुङले बताए ।
बेलायतवासी सबै लमजुङे ईस्टमित्रहरूलाई कल्याणकारी रात्रिभोज कार्यक्रममा उपस्थित भइदिन र उपस्थित हुन असमर्थ भए तापनि केही आर्थिक सहयोग गरिदिन लमजुङ समाज युकेले अनुरोध गरेको छ ।
भूगर्भविद् डा. हर्क गुरुङको सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।