काठमाडौं । राजशान्ति फाउण्डेशनका संस्थापक राजकुमार सुनार (राजु) र शान्ति सुनारले बुवा पूर्णबहादुर सुनारको स्मृतिमा लमजुङमा अक्षयकोष स्थापना गरेका छन्।
सुनार दम्पतीले सुन्दरबजार ९, फूलबारी भोटेओढारमा सामुदायिक सिकाइ केन्द्र संचालन तथा व्यवस्थापन गर्न आइतबार १ लाख ११ हजार १ सय ११ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष दाता राजकुमारले बाबुको स्मृतिमा घटस्थापनाको दिन अक्षयकोष स्थापना गरेको बताए । उनका अनुसार उक्त केन्द्रबाट सिपमुलक तालिम सञ्चालन गरिनेछ । बेरोजगार तथा सीप सिक्न चाहने महिला र पुरुषका लागि सीप प्रदान गरिने सुनारको भनाइ छ ।
स्व.पूर्णबहादुर सुनार र कृष्णकुमारी सुनार
वडा ९ को मात्र नभएर सुन्दरबजार नगरपालिकाभरिका नागरिकका लागि कार्यक्रम सञ्चालन गरिने उनले बताए । कार्यक्रमका लागि फूलबारी बहुउद्देश्यीय सेवा समाज, वडा सदस्य मधुकुमारी बोहोरा भट्टराई, कुशल भट्टराइलगायतले नेतृत्व लिएका छन् ।
सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, वडाध्यक्ष मनराज गुरुङको समेत सहयोग र साथ रहने जनाइएको छ । केन्द्रलाई बिस्तार गर्दै लैजाने नेतृत्वकर्ताहरुले बताएका छन् ।
पछिल्लो समय राजशान्ति फाउण्डेशनले विभिन्न सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । विशेषगरी लमजुङ र लमजुङका जनताको हितमा फाउण्डेसनले आफ्ना गतिविधिमा जोड दिएको छ ।
यसअघि, सुनार दम्पतीले ‘राजशान्ति शैक्षिक छात्रवृत्ति कोष’ स्थापना गरी आर्थिक अवस्था कमजोर भई पढाइबाट वञ्चित अपांगता भएका बालबालिकालाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको छन् । लमजुङको ज्येष्ठ नागरिक समाज भोटेओढारद्वारा सञ्चालन हुने गरी उक्त छात्रवृत्ति कोष स्थापना गरिएको थियो । कोषका लागि ५० हजार रुपैयाँ उपलब्ध गराइसकेका छन् । कोषको रकम क्रमशः बढाउँदै जाने उनीहरुको प्रतिबद्धता छ ।
लमजुङकै सुन्दरबजार ९, भोटेओढार घर भएका समाजसेवी सुनार दम्पतीको हाल बसोबास लन्डनमा छ ।