लन्डन । आसन्न एनआरएनए आइसीसी निर्वाचनमा बेलायतकी सक्रिय युवा अभियन्ता प्रसुना कँडेलले युरोप क्षेत्रीय महिला संयोजकमा उम्मेद्वारी दिने भएकी छन् ।
एनआरएनए यूकेकी पूर्व महिला संयोजक समेत रहेकी उनले उम्मेद्वारी घोषणा गर्दै प्रतिबद्धताभन्दा पनि निर्वाचितपछि गतिलो काम गरेर देखाउने अठोट व्यक्त गरेकी छन् । युरोप क्षेत्रका मुद्दालाई आइसीसीको फोरममा प्रभावकारी रुपमा मुखरित गर्ने उनको योजना छ ।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष उनी बेलायतको नेपाली डायष्पोराकी एक चर्चित नर्स, कलाकार एवं मोडल पनि हुन् । प्रसुना नेपलिज वुमन एसोसिएसन यूके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिव भइसकेकी छन् । सन् २००५ देखि बेलायत बस्दै आएकी उनको नर्सिङ, च्यारिटी काम, मोडलिङ र अभिनयमा लामो अनुभव छ । पेशाले उनी क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट प्रसुना रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि पनि हुन् । साथै, लन्डनको बकिङ हमसायर युनिभर्सिटीमा उनी एशोसिएट लेक्चरर छन् । युनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा एमएस्सी पूरा गरेकी उनी मनोविज्ञानमा मास्टर्स गरिरहेकी छन् ।
उनले एनआरएनए यूके ग्लोवल हेल्थ कमिटीअन्तर्गत नर्सिङ कमिटीको सहअध्यक्षका रुपमा पनि काम गरिसकेकी छन् ।
महिला सशक्तिकरणदेखि आफू पेशागत रुपमा धेरै जानकार रहेको स्वास्थ्य क्षेत्रमा एनआरएनएले सञ्चालन गर्न सक्ने हेल्थ क्याम्प, परामर्श कार्यशालाजस्ता कार्यक्रमहरुमा पनि योगदान गर्न तत्पर रहेको उनले बताइन् । संस्थाको हरेक गतिविधिमा आफ्नो ज्ञान, सीप र अनुभव खर्चने, बेलायतस्थित स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई समेत समावेश गराइ उनीहरुको दक्षता नेपालमा प्रयोग गर्ने एवं नेपालको स्वास्थ्य क्षेत्र समुन्नत बनाउन आवश्यक नीति नियमका लागि पहल गर्ने उनको भनाइ छ ।
नेपालमा भूकम्प जाँदा नेप्लिज नर्सिङ एसोसिएसन यूकेको टोलीलाई नेतृत्व गर्दै प्रसुना बढी प्रभावित विभिन्न ९ जिल्ला पुगेर घाइतेहरुको उपचारमा अहोरात्र खटिएकी थिइन् । उनले बेलायतस्थित परोपकारी संस्था अक्सफामसँग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि फन्ड रेज पनि गरेकी छिन् । हेल्प नेपाल नेटवर्कको १० करोडको अक्षयकोषका लागि एकजना संयोजकको रुपमा पनि काम गरेकी प्रसुना माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेसन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटिसकेकी छन् ।
प्रसुनाले लन्डनस्थित नेपाली दूतावासबाट ‘इन्स्पायरिङ युथ पर्सानालिटी’ को सम्मान पाएकी छन् । साथै अन्य विभिन्न संस्थाबाट कयौं अवार्ड समेत प्राप्त गरेकी छन् ।