लन्डन । एएक्सरसाइज क्याम्ब्रेन प्याट्रोल–२०२३ मा नेपाली सेनाको टोलीले रजत पदक जितेको छ । बेलायतको वेल्समा जारी कार्यक्रममा सेनाको टोलीले हालसम्म २ स्वर्ण, ३ रजत र २ काँस्य गरी ७ पदक जितेको हो ।
आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी १ सय ११ वटा टोली सहभागी छन् ।
अभ्यासमा नेपालसहित बेलायत, क्यानाडा, मेसोडोनिया, कतार, फिलिपिन्सललगायतको टोली सहभागी छन् । टोलीलाई प्रधानसेनापति प्रभुराम शर्माले पदक तथा प्रमाणपत्र प्रदान गरे ।
अभ्यास खेलमा विशेषगरी पैदल फौजको पेसागत ज्ञान, सीप, रणकौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्यांकन गरिन्छ ।
अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयभित्र ३२ किलोग्रामको ठुलो झोलासहित करिब ६०–६५ किलोमिटर दूरी विभिन्न किसिमको सैनिक कारबाही गर्दै पूरा गर्नुपर्छ ।
अभ्यासमा ७५ प्रतिशतभन्दा बढी अंक ल्ययाउने टोलीले स्वर्ण ७५ भन्दामुनि र ६५ प्रतिशतभन्दामाथि ल्याउनेलाई रजत तथा ५५ भन्दा माथि तथा ६५ प्रतिशतभन्दा मुनि ल्याउने टोलीलाई कांस्य पदक प्रदान गरिन्छ ।
सन १९७० देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यस अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको हो।