लन्डन । प्हच्कूइहाें क्होन्मै भाइ खलक युकेको १५ औं चेलीबेटी तथा भान्जाभान्जीसँगको वार्षिक भेटघाट सम्पन्न भएको छ । संस्थाका अध्यक्ष क्या. जीवनकुमार गुरुङको अध्यक्षतामा शनिबार स्यामुल कोडी स्पोर्ट कलेजमा सो कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष क्या. जीवनकुमार गुरुङ तथा संस्थाका ज्येष्ठ सदस्य रतप्रसाद गुरूङ, नीरसुभा गुरुङ, चेली जगनकुमारी सहितले संयुक्तरुपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका हुन् ।
संस्थाका उपाध्यक्ष धनबहादुर गुरुङले स्वागत मन्तब्य दिए । यस्तै, कार्यक्रम संचालन सचिव इन्द्र (नारन) गुरुङ र धन्यवाद ज्ञापन चेलीबेटीतर्फबाट जगनकुमारी गुरुङले गरेकी थिइन् ।
सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । विभिन्न सामाजिक कार्यमा सक्रिय कमल गुरुङ एन्फा कास्कीको ब्राण्ड एम्बासडर छनौट भएकोमा हार्दिक बधाई सहित विशिष्ट समाजसेवा सम्मानपत्रसहित सम्मान गरियो ।
त्यस्तै प्हच्कूइहाें क्होन्मै तमु (गुरुङ) भाइ खलकको बारेमा अनुसन्धान गरी वंशावली पुस्तक २०७८ लेखनमा पुर्याएको योगदानको कदर गर्दै ओमबहादुर घोताने गुरुङलाई र संस्थाप्रति योगदान दिएकोमा बोलप्रसाद घोताने गुरुङलाई उत्कृष्ट समाजसेवा सम्मानपत्र प्रदान गरियो ।
ज्वाइँ हर्कबहादुर गुरुङ बिसिसी युकेको अध्यक्ष चयन भएकोमा सम्मान गरिएको छ भने रतप्रसाद गुरुड र भान्जा रनबहादुर गुरुङ ८४ वर्ष पुगेकोमा ज्येष्ठ नागरिक सम्मानपत्रले सम्मान गरिएको छ ।
संस्थाका नयाँ सदस्यहरु मीनबहादुर गुरुङ, खेमकाजी गुरुङ, बेलबहादुर गुरुङ, सुरज गुरुङ उनका परिवालाई स्वागत गरियो ।
नयाँ बाबा आमा बन्न सफल भएकोमा दिवेश र देविका गुरुङ, विशाल र रुपा गुरुङ, रोहित र रुपा गुरुङ साथै आशिक र अन्जीता गुरुङलाई बधाइ तथा शुभकामना दिइएको थियो । यस्तै, उच्च शिक्षा हासिल गर्न सफल डा. पूजा गुरुङ, नवदम्पती छोरी रुकसाना र ज्वाइँ दीपक गुरुङ साथै सामिन र ज्वाइँ अनिल गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा विभिन्न प्रतियोगिता खेलाउनुका साथै आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सन्तकुमार गुरुङको नेतृत्वमा नेपालबाट आएका लोकदोहोरी गायक राजु परियार र गायिका शीला आलेले बेजोड प्रस्तुति राखेका थिए ।
संस्थाका अध्यक्ष क्या. जीवनकुमार गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै प्हच्कुइहाें क्होन्मै भाइखलक युके सन् २००८ मा स्थापना भएदेखि समाजभित्र पर्ने दुखसुख र प्राकृतिक विपत लगायतका कार्यहरुमा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।