काठमाडौं । इजरायलमा आतंकवादी हमलामा परी ज्यान गुमाएका नेपालीहरुको सम्मानमा नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ ।
सो अकल्पनीय घटनामा दिवंगत नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै सरकारले असोज २३ गते मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । साथै बैठकले परराष्ट्र मन्त्रालयले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ ।
दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा असोज २० मा १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।
सरकारले हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार १० लाख दिने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने बैठकले निर्णय गरेको बताइन्।
इजरायललस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता भएकाको खोजी गर्ने तथा घाइतेहरुको उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण ‘अनलाइन’ संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न तथा स्वदेश फर्कन चाहनेलाई आफ्नो विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार, समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहनेलाई अस्थायी ‘ट्रान्जिट होम’ स्थापना गरी व्यवस्थापन गर्न उक्त दूतावासलाई स्वीकृति दिने निर्णय गरिएको मन्त्री शर्माले बताइन् ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले पनि मृतकका परिवारलाई जनही २ लाख दिने घोषणा गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् ।