लन्डन । १९७६ सालमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका नम्बरीहरूको ४७औं वार्षिकोत्सव सभ्य तथा भव्यरूपमा सम्पन्न भएको छ ।
यही ७ अक्टोबर शनिबार साउथ ह्यारो स्पोर्ट्स एण्ड सोसीएल क्लबमा वार्षिकोत्सव मनाइएको हो । १० महिनासम्मको कष्टदायी रेक्रुट तालिमको समयमा कलिलो उमेरका जवानहरूको दुःखमा या सुखमा साथ दिने तिनै नम्बरीहरू हुने गर्थ्यो । त्यसैले एकआपसमा आत्मीयता हुने गर्दछन् ।
हरेक साल पालैपालो गरी जुन पल्टनलाई ब्यानर हस्तान्तरण गरिन्छ तिनै पल्टनले वार्षिकोत्सवको समय अक्टोबर महिना पारेर जमघटको व्यवस्थापन गर्नुपर्ने नियमअनुसार क्वीन्स गोर्खा ईन्जिनियर्स पल्टनको पालो थियो तर कोरोनाको महामारी तथा अन्य विविध कारणले व्यवस्थापन गर्न सकिरहेको थिएन । त्यसैले यसपालि क्वीन्स गोर्खा सिग्नलस् पल्टनलाई स्थगित भइरहेको यो जमघट कार्यक्रमलाई सञ्चालन अनुरोध गरिएको थियो ।
तयारीमा समयको पाबन्दी भए तापनि लेप्टिनेन्ट थमप्रसाद गुरूङको नेतृत्वमा युकेलाई कर्मथलो बनाएर बसेका क्यूजी सिग्नलस पल्टनका सबै नम्बरीहरूको सहयोग लिई कार्यक्रम भव्यताका साथ सम्पन्न गराएको आयोजकले जनायो ।
कार्यक्रमको सुरूआतमा जमघटका होस्ट लेप्टिनेन्ट थमप्रसाद गुरूङले हेल्थ एन्ड सेफ्टी तथा स्वागत मन्तव्यका दिएका थिए । करिब १८/१९ जनाको हाराहारीमा गुमाएका दिवंगत नम्बरीहरूको आत्मालाई चिरशान्ति प्रदान होस् भन्दै एक मिनेट मौनधारण पनि गरिएको थियो । त्यसपश्चात होस्टले क्यूजीसिग्नलस नम्बरीहरूको अपडेट दिएका थिए भने हरेक पल्टनका प्रतिनिधिहरूले पालैपालो पल्टनका नम्बरीहरूको अपडेट दिएका थिए । आ-आफ्ना पल्टनका प्रतिनिधित्व गर्नेहरूमा, सेकेन्ड गोरखा राईफलका क्याप्टेन राजु गुरूङ, सिक्थ गोरखा राईफलका डम्बरबहादुर गुरूङ, सेभेन्थ गोर्खा राईफलका क्याप्टेन पञ्चवीर राई, टेन्थ गोर्खा राईफलका लेप्टिनेन्ट कमल राई, क्यूजी ईन्जिनियर्सका नगेन्द्रधोज खाँड र क्यूओ जीएलआरका एमबहादुर थापाहरू थिए ।
१९७६ मा भर्ती भएका नम्बरीहरूले विभिन्न क्षेत्रमा बिशिष्ट ओहोदाहहरूओगट्न सफलका भएका छन् भने समाजसेवामा पनि आफूलाई लगाउन तत्पर रहेका छन् । तीन जना नम्बरीहरू मेजर खुसीमान गुरूङ सिक्थ गोर्खा, जो आफैमा ब्रिटिस सुटिङ प्रतियोगिताका क्वीन्स मेडल विजेता पनि हुन् । मेजर लक्ष्मीभक्त बान्तवा एमबीई टेन्थ गोर्खा र मेजर दलबहादुर लिम्बू क्युजीईहरू गोर्खा मेजरजस्ता प्रतिष्ठित श्रेणीमा पुग्न सफल भएका थिए भने मेजर बिसनुकुमार पुन जीसीओ श्रेणीमा पुग्न सफल भएका थिए ।
उत्कृष्ट कार्य गरेबापत सम्मान गर्नेक्रममा ज्ञानराज राई जसले दुई पटकसम्म एमओडी कार्यकक्षको अगाडि आमरण अनसन बसी गोर्खाहरूप्रति भइरहेको भेद्भावलाई अन्त्य गर्नुपर्छ भन्ने मागलाई सम्बोधन गराउन वार्तालापको ढोका खुलाएका थिए । उनी विशेष कारण उपस्थित हुन असमर्थ भए तापनि नम्बरीहरूले उनको त्यागलाई हृदयदेखि नै हृदयंगम गरी स्मरण गरेका थिए । यसै क्रममा लेवर पार्टीको प्रतिनिधित्व गर्दै काउन्सिलर कमल गुरूङ हेन्डन बरोहको बन्टवर्क वार्डबाट निर्वाचित भएका थिए भने काउन्सिलर विष्णुबहादुर गुरूङ पनि लेवर पार्टीबाट नै हाऊन्स्लो बरोहको हानवर्थ पार्क वार्डबाट तेस्रोपल्ट निर्वाचित भएका थिए । काउन्सिलर बिसनुले पहिलो कार्यकालमा उपमेयरको अभीभारा निभाएका थिए भने दोस्रो कार्यकालमा मेयरको अभिभारा पनि निभाउने अवसर मिलेको थियो ।
नम्बरीहरूले उनीहरूद्वय लगायत उनीहरूका अर्धागिंनीहरूलाई खादा लगाई सबैभन्दा सिनियर नम्बरी सोमबहादुर गुरूङको हातबाट सम्मान गरेका थिए । स्वादिष्ट एवं सुपथ मूल्यमा परिस्कृत खाना चमेनाको व्यवस्थापन बिसनुकुमारी लोकल भान्साघरबाट भएको थियो । सबैले उनको स्वादिष्ट खानाको भरपुर आनन्द लिई प्रशंसा गरेका थिए ।
मूलढोकामा कृष्णबहादुर गुरूङ (माइला) र विनोदचन्द ठकुरीले अन्त्यसम्म नै खटेर त्यस दिनका शुल्कहरू उठाएका थिए भने कारपार्कमा शेरबहादुर पुन खटिरहेका देखिन्थे । म्युजिक र डिजेको अभिभारा मुकुन्द गुरूङलाई दिइएको थियो जसले अन्त्यसम्म नै सबैलाई नृत्यमा झुमाएको थियो । प्राय: सबै नम्बरीहरू र नम्बरनीहरू विगतका तितामिठा सम्झनाहरू आदानप्रदान गर्नमा व्यस्त देखिन्थ्ये । अर्को सालको व्यवस्थापनको जिम्मेवारी क्यूजीई पल्टनलाई नै हस्तान्तरण गरिएको छ ।
दिउँसो १ बजेतिर सुरू भएको कार्यक्रम साँझको ७ बजेसम्म रमाइलो वातावरणमा सम्पन्न भएको थियो ।