लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको गुम्बा खरिद सहयोगार्थ च्यारिटी डिनर नाइट भव्य रुपमा सम्पन्न भएको छ ।
यही शनिबार ७ अक्टोबरमा फेल्थाम कम्युनिटी कलेजमा विभिन्न व्यक्ति सम्मान, सांस्कृतिक प्रस्तुति र राफल ड्रलगायत कार्यक्रमसहित उक्त च्यारिटी डिनर नाइट सम्पन्न भएको हो । बीसीसी यूके लन्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ, आमा समूह अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बीसीसी यूकेका केन्द्रीय अध्यक्ष हर्क गुरुङ थिए । यस्तै विशिष्ट अतिथिहरुमा काउन्सिलर, एनआरएनए यूके अध्यक्ष, बीसीसी यूके लन्डन ब्रान्चका संस्थापक अध्यक्ष, वरिष्ठ सल्लाहकारहरुलगायत थिए ।
मोतीलाल तामाङको कार्यक्रम संयोजकत्वमा भएको कार्यक्रम प्रमुख अतिथि गुरुङ, अध्यक्ष तामाङ, आमा समूह अध्यक्ष गुरुङ, खेन्पो कर्म थुङहिन र सपना गुरुङले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । स्वागत मन्तव्य कार्यक्रम संयोजक एवं बीसीसी यूके लन्डन ब्रान्चका उपाध्यक्ष मोतीलाल तामाङले राखे भने स्वास्थ्य सुरक्षाबारे पन्च तामाङले जानकारी गराएका थिए । खेन्पो कर्मले छोटो मन्तव्यसहित मोलम पूजा गरेका थिए ।
कार्यक्रममा नयाँ ट्रस्टीलाई प्रमुख अतिथिबाट प्रमाणपत्र र खादाले स्वागत, सम्मान गरिएको थियो । सांस्कृतिक कार्यक्रम सञ्चालन र कोरियोग्राफरको भूमिकामा हेलिसा गुरुङ थिइन् भने डिजे साउन्डमा सुशील गुरुङले भूमिका खेले ।
लन्डनभित्र गुम्बा निर्माण गर्ने उद्देश्यले पछिल्लो समयमा हरेक वर्ष शवार्षिक च्यारिटी डिनर नाइट हुँदै आएको छ ।