लन्डन । इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् । शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६ सय नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।
मृत्यु हुनेमा नेपालकाे घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशीष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको हो ।
आक्रमणमा परी सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल पनि घाइते छन् । उता, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित छन् ।
मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेको राजदूतावासले जनाएको छ । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्धारको प्रयास भइरहेको छ।
स्रोतका अनुसार इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २ सय ६५ जना विद्यार्थी इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका थिए ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्धार सम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।