लन्डन । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा नेपाली विद्यार्थी पनि घाइते भएका छन् । त्यहाँ नेपाली कृषि विद्यार्थी ७ जना घाइते भएका हुन्।
दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन्। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरिन् । साथै फार्मको आवासमा रहेका १७ जना विद्यार्थी आक्रमणकारीको घेरामा छन्।
यसबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेको उनको भनाइ छ ।
आक्रमण जारी रहेकाले विद्यार्थीलाई सतर्क रहन आग्रह गरिएको छ । विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् । आफूहरु कृषिमा इन्टर्न गरिरहेका विद्यार्थी भएको र नेपालमा चिनेजानेका सबैलाई सहयोगका लागि याचना गरेको उनीहरुले बताएका छन् ।
शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् ।
टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी आक्रमणमा हालसम्म झण्डै ६ सय जना घाइते भएको जनाएको छ ।
२०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो ।