साहित्यकार माया गुरुङको जन्मस्थान सिरुबारी पञ्चमूल, स्याङ्जा (होमस्टे गाउँ) नेपाल हो । बुबा दानबहादुर गुरुङ र भीमकुमारी गुरुङको कोखबाट जन्मिएकी माया हाल वेलिङ्, केन्ट, बेलायतमा बस्दै आएकी छन् ।
कर्मभूमि बेलायतको व्यस्त जिन्दगीबाट समय उभारेर माया साहित्य लेखनमा लगाइरहेकी छन् । सन् ९० को दशकदेखि फुट्कर कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गर्दै आए पनि मायाले पहिलो कृति भने २०७८ मा जिन्दगी कवितासङ्ग्रह प्रकाशन गरिन् । लगत्तै अर्को वर्ष २०७९ मा 'बाको जुत्ता' र 'ऐना' एकैपटक लोकार्पण गर्न सफल भइन् ।
कविता सिर्जनामा बढ्ता दख्खल राख्ने माया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य छिन् । हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको उपाध्यक्ष तथा सोंपाल समाज युकेको आमा अध्यक्ष छिन् ।
स्कुल शिक्षिका, आर्मी स्वास्थ्यसेवामा सहायक नर्स, एकाउन्ट फार्ममा सेवा गरेकी उनी राधा फाउन्डेसन नेपालद्वारा नारी रजस्वलासम्बन्धी अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो पुरस्कार पाइन् ।
अनेसास बेलायतबाट पुरस्कृत गरिने सुप्रमा–ईप्रमा साहित्यिक पुरस्कारबाट पहिलो कृति जिन्दगी कवितासङ्ग्रहका लागि पुरस्कृत बनिन् भने कविता वाचन र अन्य कविता प्रतियोगिताहरूमा पनि सम्मान र पुरस्कारहरू प्राप्त गरेकी छन् ।
यस्तै गोर्खा मिडिया डटकम अनलाइनको तेस्रो वार्षिकोत्सवको अवसरमा २०२३ सेप्टेम्बरमा माया साहित्यतर्फबाट समाज विकासमा पुर्याएको योगदानस्वरुप सम्मानित भएकी थिइन् ।
कवयित्री गुरुङलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालै नवरत्न पुरस्कारबाट पनि पुरस्कृत गरेको छ ।
उनले विभिन्न कार्यक्रमको सिलसिलामा हङकङ, ब्रुनाई, भारत, सिंगापुर, मलेसिया तथा बेलायत भ्रमण गरेकी छन् । औपचारिक शिक्षातर्फ मानविकी र समाजशास्त्र संकायमा पद्मकन्या क्याम्पस, काठमाडौंबाट स्नातक उत्तीर्ण गरेकी छन् ।