लन्डन । प्रवासी नेपाली मञ्च यूकेले दशैंतिहार अवसरमा सोमबार लेष्टरको ‘जंगल क्लब’ मा दशैंतिहार शुभकामना कार्यक्रम गरेको छ।
नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा विशेष कार्यक्रमसहित शुभकामना आदानप्रदान गरियो ।
कार्यक्रममा जनवादी गायक जीवन शर्मा, लोकप्रिय गायक राजु परियार र गायिकाद्वय शिला आले र पूर्णकला बिसीले दिएको बेजोड सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकले भरपूर मनोरञ्जन लिए । कलाकार अनिशा गौतम र चन्द्र खत्रीले आकर्षक नृत्य देखाएका थिए ।
संस्थाका अध्यक्ष तुंगभद्र भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा र पूर्व अध्यक्ष भक्त गुरुङ, मञ्चका संस्थापक अध्यक्ष आकलजंग लामा लगायतले दिएका शुभकामना सन्देशका भिडियोहरु बजाइएको थियो ।
मञ्चका अध्यक्ष भुषालले संस्थाका तर्फबाट दशैं, तिहार, छठ, नेपाल संवतसहितका सबै नेपाली पर्वको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए यूके तथा आइसीसीका विभिन्न जिम्मेवारीमा रहेर योगदान गर्ने झन्डै दुई दर्जन अभियन्ता तथा मिडियामार्फत समुदायमा योगदान गर्ने पत्रकारसमेतलाई मञ्चका तर्फबाट सम्मान गरिएको थियो।
कार्यक्रम संयोजक मञ्चका नेता पशुपति पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्थानीय सिर्जनशील लेष्टर नेपालका अध्यक्ष पुण्डरी अर्यालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष एनआरएनएनए उपमहासचिव रामशरण सिम्खडा, पूर्व अध्यक्षहरु भक्त गुरुङ, दिनेश घिमिरे, राजेन्द्र पुडासैनी र सुरेन्द्र थपालियासहित बेलायतभरबाट मञ्चका अन्तर्राष्ट्रिय तथा बेलायत कमिटीका नेता, कार्यकर्ता भेला भएका थिए। त्यस्तै, एनआरएनए यूकेका पदाधिकारी एवं अभियन्ता, मिडल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रस्थित संघसंस्थाका प्रतिनिधिलगायतको पनि सहभागिता थियो।