शहीद भन्ने शब्द सुन्नेबित्तिकै मन खुशी, गर्व र आदरभावले तरंगित भएर आउँछ । आस्था, विश्वास, आदर्श र सिद्धान्तप्रति निष्ठावान भएर ज्यान बलिदान गर्ने वास्तविक शहीदलाई शिर निहुरेर नमन गर्न मन लाग्छ । किनभने शहीदले अत्याचार, निरंकुशता र विभेदविरुद्ध देश र जनताको लागि आफ्नो जीवन उत्सर्ग गर्ने गर्दछ । तर आज शहीदको परिभाषालाई आफू अनुकूल व्याख्या गर्ने गरेको पाइन्छ । यहाँ देश र जनताको लागि आफ्नो ज्यान समर्पण गरेको केही व्यक्तिहरु, जसलाई मुलुकले नामसम्म पनि उच्चारण गरेको पाइँदैन । यो अत्यन्त दुःखद् कुरा हो ।
नेपालले भोटसँगको युद्ध जितेपछि १९१२ देखि भोटले नेपाललाई बर्सेनि १०,०००।– (दश हजार) सिर्तो तिर्नुपर्थ्यो । सैनिकमा रहेका गुरुङ जातिहरुको कारणले भोटको युद्ध जितेको हुनाले गुरुङ जातिका ती सैनिकहरुको कदर गर्दै गुरुङहरुमात्रै भएको कालीबहादुर पल्टनको खडा गरेको थियो । (प्रा.डा. जगमान गुरुङ तमुवानको ऐतिहासिक वृतान्त) धेरै समयसम्म श्री ५ महाराजाधिराज र श्री ३ महाराजको Royal Guard शाही रक्षकको रुपमा कालीबहादुर पल्टन प्रसिद्ध थियो ।
श्रावण सुदी १९१३ (६ अगस्ट १८५५ मा श्री ५ महाराजधिराज सुरेन्द्र वीर विक्रम शाहद्वारा जंगबहादुर राणालाई कास्की र लमजुङको महाराजको उपाधि प्रदान गरिएको थियो । यो लालमोहरले जंगबहादुर राणालाई कास्की र लमजुङको जनतालाई मृत्युदण्ड र क्षमादान गर्न सक्ने अख्तियार प्रदान गरेको थियो । नेपालको इतिहासमा एकिकरणदेखि गणतन्त्रसम्म धेरै गुरुङहरुले देश र जनताको लागि आफ्नो प्राण आहुति गरिसकेका छन् । तर दु:खको कुरा देश र जनताको लागि आफ्नो जीवन उत्सर्ग गरेका केही नामहरु हुन्, जुन इतिहासको पानामा सुनौलो अक्षरले लेखिनु पर्ने तर कतै नसुनिने र कतै नदेखिने गरी गुमनाम छन् यहाँ उनीहरुको बारेमा संक्षेपमा चर्चा गरिएको छ ।
जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन जारी गरेको थियो । यसमा नेपालीहरुलाई हिन्दु वर्ण व्यवस्थाअनुसार जातीय आधारमा विभाजन गरेको थियो । हिन्दु वर्ण व्यवस्थामा बाहुनलाई सर्वोत्तम जाति भनिएको थियो । उच्च तागाधारी जातिले ज्यान मार्ने सजाय भोग्नु नपर्ने अरु जातिहरुले सानै गल्ती गरे पनि ठुलै सजाय भोग्नुपर्ने कानुन जारी भयो । कानुन जातीय हिसाबले ब्राह्मणको, सांस्कृतिक हिसाबले आर्य संस्कृतिको र धार्मिक हिसाबले हिन्दु धर्मको पक्षपोषण गर्ने खालको थियो । समाजलाई विभेद र विखण्डन गर्ने खालको कानुनले गर्दा जनता असन्तुष्ट र दुखी थियो । केही आक्रोशित भए । आक्रोषित हुनेहरु एकजुट भएर संघर्षमा होमिन थाले । यसका नेतृत्व शुकदेव गुरुङले गरेका थिए ।
शुकदेव गुरुङ
शुकदेव गुरुङ लमजुङका थिए (उमेश राना गोर्खाली फागुन १, २०७९ हिमाल खबर) । उनी बुद्ध धर्मावलम्बी थिए । उनका गतिविधि धार्मिक थिए र उनका गतिविधि सबै लमजुङमा केन्द्रित थियो । गुरुङहरुको आफ्नै शासन प्रणाली हुन्छ । गुरुङहरु राजाको नीतिभन्दा गुरुङको आफ्नै थितिअनुसार चल्न चाहन्छन् । शुकदेवले अहिंसात्मक धार्मिक आन्दोलन सुरु गरे । वि.सं. १९३३ मा शुकदेव गुरुङले आफूलाई नौ सरकार बौद्ध बादशाहको घोषणा गरेका थिए । उनको आन्दोलन समाज सुधारको पक्षमा थियो । त्यसैले उनको आन्दोलनमा धेरै मानिसहरु प्रभावित भएका थिए । उनका पछि धेरै मानिसहरु लागेका थिए । तर पछि उनी पक्राउमा परे । पक्राउमा परेपछि कारागारमा उनको देहावसान भएको थियो । ज्वरोको कारणले उनको मृत्यु भएको हो भनिए तापनि कडा यातनाको कारणले उनको मृत्यु भएको हो (त्रिरत्न मानन्धर) ।
राणा शासनको विरुद्धमा साहसका साथ ज्यानको प्रवाह नगरी विद्रोह गरेका शुकदेवलाई भैरहवाका गुरुङहरुको सक्रियतामा लुम्बिनी रोड वर्मेली चोकमा अर्धकदको सालिक निर्माण गरिएको छ । गुरुङहरुले उहाँलाई सहिद घोषणा गरियोस् भन्ने माग गरेका छन् । चैत १० गते शुकदेव गुरुङको सम्मानमा सहिद दिवसको रुपमा मनाउँछन् ।
१९३२ चैत २३ मा जंगबहादुर राणाको तानाशाहीको विरुद्धमा गोरखामा लखन थापामगरले स्वतन्त्रता र स्वाधिनताको लागि विद्रोह गरेका थिए । यसरी गोरखा र लमजुङमा राणा शासनको विरुद्धमा जनता आन्दोलित भएका थिए । लखन थापालाई सघाउन नौ गुरुङ क्षेत्रका हतियारधारी गुरुङहरु सहभागी भएका थिए (रेग्मी रिसर्च सिरिज १९३२) । लखन थापासँग जय सिङ्ग चुमी, वालेश्वर अछामी, विराज थापा, जुठ्या थापा, अजयसिं थापा र जितमान गुरुङलगायत योद्धाहरु सम्मिलित थिए । शुकदेवले आफूलाई नौ बादशाह भन्नुको अर्थ तत्कालीन श्री ५ महाराजाधिराज र श्री ३ महाराज र आफू बौद्धमार्गी भएकाले ९ बौद्ध बादशाह भनेको हुनु पर्दछ ।
गुरुङ जमदार
जंगबहादुर राणाले मुलुकी ऐन लागू गरेपछि लमजुङ र गोर्खाको गुरुङ गाउँहरुमा विद्रोहको झिल्को देखिन थालेको थियो । जुन विस्तारै ठूलो रुप लिँदै गयो । सरकारको दानापानी (नुनपानी) खाएको पल्टनमा समेत त्यो विद्रोह देखिन थाल्यो । पल्टनले नै विद्रोह गर्छन् कि भन्ने बुझेर चतुर जंगबहादुरले पूर्ण तयारीको साथ टुँडिखेलमा परेडको लागि सबैलाई हाजिर हुन उर्दी जारी गर्यो । त्यहाँ हुने संभावित खतरालाई निषेध पार्न तोपको समेत व्यवस्था गरिएको थियो । त्यहाँ जमदार गुरुङ केही गर्न सक्ने अवस्थामा थिएन । उल्टो सैनिकहरुबाट उनलाई टुक्रा टुक्रा पारी काट्न लगाए । यो कार्य गर्न सैनिकहरु विवश थिए । इतिहासमा ती गुरुङ जमदार श्रीपति गुरुङ नै हुन् भनेका छन् (विजय सागर–गुरुङ जातिको अध्ययन) ।
सुपति गुरुङ
गुरुङहरुको पल्टन भनेर चिनेका कालीबहादुर पल्टनमा जमदारको विभत्स हत्या गरेपछि यता शुकदेव गुरुङलाई पनि जेलमा चर्को यातना दिएर ज्वरोको कारण मृत्यु भएको हो भन्ने बताएपछि गुरुङहरु थप आन्दोलित भए । गोरखा र लमजुङको क्षेत्रहरुमा गुरुङहरु झनै आन्दोलित भए । विद्रोह रोकिएन । शुकदेव पछिको नेतृत्व सुपति गुरुङले लिए । शुकदेवले झैं सुपतिले पनि आफूलाई नौ बादशाह घोषणा गरे (मानन्धर) । बुद्ध धर्मको अनुयायी गुरुङहरुलाई यो कुराले नछुने कुरा भएन ।
सुपतिको पछि धेरै गुरुङहरु आफ्नो खुशीराजीले स्वत:फूर्त लाग्न थाले । उनीहरु सैनिकको रुपधारण गर्न लागे । सुपतिले शुकदेवको ठाउँमा नेतृत्व लिएर विद्रोहलाई व्यापक र उत्कर्षमा पुर्याए । उता सरकारले विद्रोह दबाउन पूरै शक्तिको प्रयोग गर्न थाले । सुपतिलाई खोजेर पक्रन सरकार सफल हुन सकिरहेको थिएन । तत्कालीन प्रधानमन्त्री रणदीप सिंहले कमान्डर इन चिफ जगतशमशेरमार्फत कप्तान रणध्वज अधिकारीलाई सुपतिलाई पक्रन गोरखाको सात सय घरदेखि लमजुङ कास्कीको अठार सय खोलासम्म सेना परिचालन गरे । तर सुपतिको केही पत्तो लागेन ।
यसरी समय समयमा गुरुङहरुले तत्कालीन समयको सरकारको मुटु हल्लाएको इतिहासमा पाइन्छ । यसरी यो वीर सपुतहरुले समानता र निरंकुशताविरुद्ध गरेको विद्रोहलाई गुरुङ विद्रोह भन्न सकिन्छ ।