लन्डन । तमु समाज युकेको कम्युनिटी सेन्टरमा मुख स्वास्थ्य सचेतना तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार तमु समाज युके, कोडेक युके र हिमालयन डेभलपमेण्ट इन्टरनेसनलको संयुक्त आयोजनामा वेम्बलीस्थित तमु समाज युके नेपाली कम्युनिटी सेन्टर बरहाम पार्कमा सो कार्यक्रम भएको हो ।
तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हिमालयन डेभलपमेन्ट इन्टरनेसनलका कार्यकारी निर्देशक डा. प्रकाश खनालले कार्यक्रम सञ्चालन गरेका थिए भने कोडेक युकेका अध्यक्ष अरुण चालिसेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ४३ जनाको उपस्थिति थियो भने १७ जनाले दन्त परीक्षण कार्यक्रम भाग लिई लाभ लिए ।
कार्यक्रममा दन्त स्वास्थ्यको महत्व, दन्तसम्बन्धी समस्यालाई बिग्रनबाट रोक्ने तरिका र बेलायतमा उपलब्ध दन्त उपचार प्रणालीका प्रकारहरूबारे प्रस्तुतीकरण मार्फत मुख स्वास्थ्यको बारेमा जागरूकता बढाइयो । साथै, स्वस्थ मुख, स्वस्थ शरीर भन्ने दन्त पुरण नामक चेतनामूलक भिडियो देखाएको थियो ।
तमु समाज युकेका अध्यक्ष तथा कार्यक्रमको सभापति शिवकुमार गुरुङले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ब्यक्त गरे ।
सो अवसरमा डा. रजनी कोइराला, डा. रचयिता पन्त र डा. विधान वाग्लेलाई विशेष धन्यवाद ज्ञापन गरियो । साथै समन्वय र सहज रुपमा सम्पन्न गरेकोमा डा. प्रकाश खनाल, अरुण चालिसे र धरमबल गुरुङलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
यस्तै, तमु सामज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र अध्यक्ष शिवकुमार गुरुङ, तमु समाज युकेका प्रथम महिला मीना गुरुङले दन्त विशेषज्ञहरु डा.रजनी कोइराला, डा. रचयिता पन्त, डा. विधान वाग्ले, कोडेक युके अध्यक्ष अरुण चालिसे, हिमालयन डेभलपमेण्ट इन्टरनेसनलको कार्यकारी निर्देशक डा. प्रकाश खनाल र तमु समाज युकेका महासचिव धरमबल गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
कोडेक युकेले उपस्थित सबैलाई खाना र पेय पदार्थको प्रायोजन गरेको थियो भने तमु समाज युकेले हल र साउन्ड सिस्टम उपलब्ध गराएको थियो । हिमालयन डेभलपमेन्ट इन्टरनेसनलले विशेषज्ञ चिकित्सकहरुको संयोजन गरेको थियो ।