फार्नबोरो। ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) ले ग्रान्ड माष्टर राष्ट्र राईको स्मृतिमा आइतबार शोक कार्यक्रम गरेको छ ।
फार्नबोरोस्थित गोर्खा भवनमा भएको शोक कार्यक्रममा उपस्थित संस्थाका अध्यक्ष मेरि टिकेन्द्र दल देवान जेपी, महासचिव छत्र राई, कोषाध्यक्ष टेकबहादुर थापा, प्रवक्ता प्रकाश गुरुङ लगायत सबै सदस्यहरु भावुक देखिन्थे ।
कार्यक्रममा मगर संघ युकेका पूर्व अध्यक्ष मेरि कुलबहादुर थापा, राई यायोख्यका पूर्व अध्यक्षहरु पदम राई, रामधन राई, तमु धिं युकेका पूर्व अध्यक्ष कमल गुरुङ, एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, पूर्व अध्यक्षहरु पूनम गुरुङ, योग फगामी, आइसीसी युके सदस्य ले.रि. चन्द्र गुरुङ, गोरखा अनसनकारी पुष्प राणा घले, धनबहादुर गुरुङ, एनआरएन बेलायतका पूर्व प्रमुख संरक्षक शेरबहादुर सुनार, सागरमाथा तेक्वान्दो डोजाङ फार्नबोरो ब्रान्चका मेनेजर धीरज गुरुङ र विशाल राना साथै धेरै शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।
स्व. राईको तस्बिरमा खादा, फूल चढाएर शोक पुस्तिकामा हस्ताक्षर गरी मन भारी बनाउँदै सहभागी बिदा भएको दृश्य कारुणिक थियो । साथै देशविदेशबाट पनि थुप्रै शोक सन्देशहरु आएको प्रवक्ता प्रकाश गुरुङले बताए । जेन मार्सलआर्टस युकेका चिफ क्या.रि. इन्द्र गुरुङले नेपालबाट शोक समाचार पठाएका थिए ।
राई बिजिडब्लुएसका सक्रिय सदस्य थिए । पछिल्लो समय चलिरहेको नेपाल र ब्रिटिश सरकारबीचको ब्रिटिश गोर्खासम्बन्धी प्रारम्भिक बैठकमा उनले धेरै पटक संस्थाको प्रतिनिधित्व गरेका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका उनको अल्पायुमै भएको असामयिक निधनले ठूलो क्षति पुगेको अध्यक्ष मे.रि. टिकेन्द्र दल जेपी बताउँछन्।
सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक राष्ट्र राईको अघिल्लो बिहीबार ५८ वर्षको उमेरमा निधन भएको थियो । राई आर्मीमै फिजिकल इन्स्ट्रक्टर थिए । उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् । राई एनआरएनए यूके स्पोर्ट्स कोअर्डिनेसन काउन्सिलका संयोजक, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) का सक्रिय सदस्य पनि थिए ।
गोर्खालीका एक धरोहर, निडर, स्पष्ट वक्ता, बहुमुखी प्रतिभाशाली राई चित्रकार पनि थिए । पूर्वबेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।