अल्डरसट । पञ्चासे हर्पनडाँडा समाज युकेको बैठक सम्पन्न भएको छ । समाजका अध्यक्ष देउकाजी गुरुङको अध्यक्षतामा अल्डरसटस्थित द प्यालेस रेष्टुरेन्टमा ३० सेप्टेम्बरमा भएको बैठकमा झन्डै ४० जनाको सहभागिता थियो।
नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका वडा २३ अन्तर्गत सिधाने, कुद्बीडाँडा, दम्दमे र मकनपुर गाउँहरु मिलेर सन् २०१२ मा बेलायतमा समाजको स्थापना भएको थियो । समाजले आफ्नो गाउँ विकासका लागि निकै धेरै कामहरु गरिसकेको छ । प्रत्येक वर्ष बेलायतमा भेटघाट कार्यक्रम गर्दै आएको छ भने केही रकम उठाएर नेपालमा सहयोग गर्दैआएको छ । केही वर्षयता गाउँका २ जना विद्यार्थीलाई समाजले क्याम्पस पढाइरहेको समाजका महासचिव प्रकाश गुरुङले बताए ।
बैठकको मुख्य विषय गाउँ विकासका लागि के गर्न सकिन्छ र बेलायतमा हुने वार्षिक भेटघाट कसरी प्रभावकारी गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो। ९३ वर्षीय प्रेमबहादुर गुरुङले समाजको उन्नतिको लागि आफ्नो दक्षता केमा छ पूर्णरुपमा लगाउनु पर्छ भन्दै सबै कार्यसमितिका सदस्यलाई समाज राम्रो संचालन गरेकोमा धन्यवाद दिए ।
राहत कोष नेपालको बारे महासचिव प्रकाश गुरुङले बोलेका थिए । आउने सालको भेटघाट कार्यक्रम स्यामुल कोडी स्कुल, फार्नबोरोमा हुने उनले जानकारी दिए । कार्यक्रम हलमा हुने भएकाले सांस्कृतिक विभाग प्रमुख खुशीमान गुरुङलाई कलाकारको बन्दोबस्त गरी अधिक रमाइलो हुने वातावरण बनाउन निर्देशन दिइएको छ ।
वार्षिक भेटघाट वर्षमा २ पल्ट गर्ने भन्ने प्रस्तावमा धेरै विचार आएकोमा त्यसको निर्णय आगामी बैठकले टुंगाउने अध्यक्ष देउकाजी गुरुङले बताए।
समाजका प्रमुख सल्लाहकार डमरकाजी गुरुङले नेपालको आकस्मिक स्वास्थ्य सेवा कोषबारे जानकारी दिए । समाजका उपाध्यक्ष रवि गुरुङले स्वागत भाषण गरेका थिए । कोषाध्यक्ष कृष्ण घलेले आयव्यय प्रस्तुत गरे।
बैठकमा अध्यक्ष देउकाजी गुरुङले उपस्थित सबैलाई धन्यवाद दिए भने महासचिव प्रकाश गुरुङले कार्यक्रम संचालन गरे।