पोखरा । कवि मञ्जुलको पोखरामा शनिबार एकल कविता वाचन सम्पन्न भयो ।
पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा कवि मञ्जुलले झण्डै दुई दर्जन कविता वाचन गरे ।
‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेकोमा ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’ लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गरे ।
कवि तीर्थ श्रेष्ठले मञ्जुललाई जनवादी गायकसँगै कवि व्यक्तित्व रूपमा लिए । उनले मञ्जुललाई जागरणका गायकरुपमा चिनाए ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जीवनको उत्तरार्धमा पनि कवि मञ्जुल सिर्जनाकर्ममा उत्तिकै सक्रिय रहेको बताए । उनलाई पोखरामा पाउँदा खुसी व्यक्त गरे ।
आजभन्दा ५० वर्षअघि ‘राल्फा’ आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यिक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका कवि मञ्जुलको उमेर ७८ वर्ष भयो । तैपनि उनी उत्तिकै सक्रिय छन् । जनवादी गायकका रूपमा समेत प्रसिद्धि कमाएका उनका कविता, गीत, निबन्ध, उपन्यासका झन्डै एक दर्जन कृति प्रकाशित छन् ।
उनले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका कवितासमेत सुनाए ।