लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा राजेन्द्रकुमार (आरके) शर्मा र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा गरेका शर्माले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकतादेखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए । उनले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
२१औं शताब्दी अनुसार प्रविधिमैत्री एनआरएनए बनाउनु पर्ने उनको धारणा छ ।
एनआरएनए आईसीसीको उम्मेदवारी समृद्ध नेपाल बनाउन र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नका लागि भएको बताए ।
उनले यसअघि नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभागको समन्वयमा कतारमा क्रियाशील ५७ संघसंस्थाको कतारमा आयोजित तीज कार्यक्रममा पनि उम्मेदवारी दिने घोषणा गरेका थिए ।
यस्तै, अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी रविना थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले महिलाहरु आफै इच्छा गरेमात्रै नेतृत्वमा पुग्न सक्ने भन्दै उम्मेदवारी घोषणा गरेको बताइन् ।
थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई अपिल गरिन् । महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्न सम्पूर्ण मतदातामा उनको आग्रह छ ।
एनआरएनएको आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा विश्व सम्मेलन तथा महाधिवेशन हुँदैछ । त्यसका लागि असोज २५ देखि २९ सम्म मनोनयन कार्यतालिका छ । भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता तथा सनाखतको व्यवस्था छ । आगामी कार्यकाल सन् २०२३–०२५ सम्म नयाँ नेतृत्व चुन्न कात्तिक २ गते होटल सोल्टीमा मतदान हुँदैछ ।