लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) को नयाँ नेतृत्व आलोपालो हुने भएको छ ।
संस्थाको आइतबार भएको अधिवेशनबाट अध्यक्षमा पुण्य रेग्मी र लिलादेवी गुरुङले एक/एक वर्ष जिम्मेवारी सम्हाल्ने गरी नेतृत्व चयन गरिएको हो । अध्यक्षको जिम्मेवारीको पहिलो कार्यकालमा रेग्मी र एक वर्षपछि गुरुङले सम्हाल्ने छन् ।
रेग्मी अघिल्लो कार्यसमितिका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष थिए । गुरुङले अध्यक्षमा उम्मेदवारी दिएकी थिइन् ।
नवनिर्वाचित कार्यसमितिको दुई उपाध्यक्षमा मञ्जु भण्डारी र सुरोज मास्के चुनिएका छन् । महासचिवको जिम्मेवारीमा ह्यारी गुरुङ चयन भएका छन् ।
कार्यसमितिको सचिवमा सुदेशा बजगाईं, कोषाध्यक्षमा सोनी श्रेष्ठ र सहकोषाध्यक्षमा रामकृष्ण अर्याल चुनिएका छन् । एलएन पाण्डे संयोजक, राजन खकुराल सदस्यसचिव र सहदेव गिरी सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि रोयल ग्रीनविच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेके, निवर्तमान अध्यक्ष एवम् ग्रीनविच बरो उपमेयर जीत रानाभाटलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
यसअघि निवर्तमान समिति अध्यक्ष रानाभाटको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । त्यस क्रममा महासचिव मञ्जु भण्डारीको वार्षिक तथा कोषाध्यक्ष रुद्र गौतमको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।
त्यस्तै, सल्लाहकार फडिन्द्र भट्टराई संयोजक रहेको विधान समितिले पेस गरेको विधान संशोधन प्रस्ताव सभाले पास गरेको थियो । संशोधित विधानमा संस्थाको साधारण सदस्य ग्रीनविच बरोका बासिन्दामात्रै रहनेछ र अरु मानार्थ सदस्य रहन सक्ने जस्ता व्यवस्था गरेको छ ।