लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेको अध्यक्षमा सञ्जयभक्त कँडेल निर्वाचित भएका छन् ।
प्लमस्टिडमा रहेको गोर्खा क्लबमा आइतबार भएको संस्थाको पाँचौं अधिवेशनबाट सञ्चारकर्मीसमेत कँडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष निर्वाचित कँडेलले संस्थामा यसअघिका दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन् ।
कार्यसमितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सविना श्रेष्ठ उपाध्यक्ष, सर्वेन्द्र अधिकारी महासचिव, लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन् । कार्यसमिति सदस्यमा अभिषेक गौतम, गोमा खरेल ‘श्रेया’, सुष्मिता थापा, सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन् ।
त्यस्तै, संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्वअध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनीत भएका छन् । राजन सुवेदी संयोजक तथा आनन्द धरेल र शेखर शर्मा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीलाई शपथग्रहण गराएको थियो ।
यसअघि निवर्तमान समिति अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो । संसारभर नेपाली कला, भाषा र संस्कृति संरक्षण र प्रवर्द्धनको उद्देश्यसहित सन् २०१२ मा स्थापित इनासको यूके शाखा सन् २०१५ मा स्थापना भएको थियो । इनासले विश्वका ७० भन्दा बढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।