लन्डन । सामान्यत: औपचारिक शिक्षाअन्तर्गत पढेका विषय सम्बन्धित काम गर्नु राम्रो मानिन्छ । ज्ञान आर्जन गरेका विषयलाई व्यवहारिकतामा परिणत गराउन सकेमा चाँडो सफलता मिल्ने बुझाइ समाजमा छ । तर, यो भनाइ वा सिद्धान्त हर मानिसको जीवनमा मेल खाँदैन । त्यस्तै कर्ममा लागेकी छिन् केन्टमा बस्दै आएकी भूपू ब्रिटिस आर्मीकी छोरी एसिया गुरुङ (२५) । नेपालको सुनसरी धरानमा जन्मिएकी एसियाले भर्खरै आफ्नो सोलो लगानीमा ‘तिम्रो एस्टेट’ नामक प्रोपर्टी कम्पनी खोलेकी छन् ।
शैक्षिकरुपमा एसियाले कानुन विषयमा फस्ट क्लास ल डिग्री हासिल गरेकी छिन् । सुरुमा वकिल बन्ने सोचले ल फर्ममै काम गरिरहेकी थिइन् । तर, एक्कासी मन फेरिएर प्रोपर्टी व्यवसायमा लागेकी उनी बताउँछन् । 'वकिल बन्न कानुनी फर्ममा काम गरिरहेकी थिएँ तर मैलै भिन्दै बाटोमा यात्रा गर्ने निर्णय गरेँ । त्यसैले इन्डिपेन्डेन्ट प्रपोर्टी ऐजेन्ट बनेको छु । ऐजेन्टका लागि गर्नुपर्ने सबै प्रशिक्षण र सान्दर्भिक पाठ्यक्रमहरु गत वर्ष नै पूरा गरिसकेकी छु,' एसिया भन्छिन् । बेलायतमा प्रोपर्टी कम्पनी खोलेर संचालन गरेको सम्भवतः पहिलो महिला आफू नै भएको उनको दाबी छ ।
एसियाको लगानीमा खुलेको ‘तिम्रो एस्टेट’को लक्ष्य भनेको सम्पत्ति लगानीबारे शिक्षा दिनु र सुरु गर्न प्रोत्साहन गर्नु रहेको छ । उनका अनुसार प्रोपर्टीमा लगानी सुरु गर्ने धेरै तरिकाहरु छन् । मोर्गेज र धितोबिना पनि लगानी सुरु गर्न सकिन्छ । व्यवसायी एसियाले प्रोपर्टीमा लगानी बेलैमा गर्दा राम्रो हुने सुझाव दिएकी छन् । 'म के विश्वास गर्दछु भने प्रोपर्टी इन्भेस्टिङ सबैको लागि हो र जति चाँडो सुरु गर्यो त्यति नै राम्रो,' उनी भन्छिन् । आफ्नो कम्पनीको विशेषता भनेको लगानीमा उच्च प्रतिफल (आरओआई) पाउने प्रपोर्टीको पहिचान गर्ने, आवासीय, व्यावसायिक, बाई टू लेट (बीटीएल), हाउस इन मल्टिपल अकुपेसन (एचएमओ), सर्भिस एकोमोडेसन (एसए), बाई रिफर्बिस रिफाइनेन्स (बीआरआर), फ्लिपस्, रेन्ट टू रेन्ट (आरटूआर), जमिन किन्ने र घर बनाउने आदि विस्तृत क्षेत्रमा ग्राहकको आवश्यकतानुसार सेवा प्रदान गर्ने रहेको एसिया सुनाउँछिन् ।
तिम्रो स्टेटले झन्झट र तनावमुक्त तरिबाले सेवा दिने पनि एसियाको दाबी छ । 'ग्राहकको प्रोपर्टी आवश्यकता सोधेर, बुझेर त्यहीअनुसार सेवा दिन्छौं । यदि ग्राहकले हामीबाटै उपयुक्त लगानी हुने खालको प्रोपर्टी खोज्न चाहनुहुन्छ भने त्यसका लागि पनि सेवा दिन्छौं । जसका लागि भिउङ्ग, अनुसन्धान र उत्तम मूल्यका लागि कुराकानी गर्दछौं । यी सबै विवरणहरु प्रोपर्टी इन्भेष्टमेन्ट प्याकेजमा उल्लेख गर्छौं,' उनले भनिन्, 'तसर्थ हाम्रो सेवा पूर्णरुपमा झन्झटमुक्त र तनावमुक्त हुने विश्वास दिलाउँछु ।' सम्पत्ति लगानी कम्पनीको हैसियतले आफूहरुको ध्यान ग्राहकको धेरै फाइदा प्रपोर्टीबाट कसरी हुन्छ भन्नेमा केन्द्रित रहने पनि उनले बताइन् ।
सकेसम्म धेरै ग्राहकलाई मद्दत गर्ने र विशेषगरी नेपाली समुदायमा सेवा गर्न चाहेको बताउँदै एसियाले भाषा र प्रोपर्टीको ज्ञान फैलाउन आफ्नो कम्पनीले मद्दत गर्ने पनि वचनबद्धता व्यक्त गरेकी छन् । 'हाम्रो समाजमा भाषाको समस्या र प्रपोर्टीको ज्ञान पूर्ण नभएको महसुस गरेकी छु । त्यसैले यी समस्याबाट पार पाउन ‘तिम्रो एस्टेट’ सेवामा आएको छ,' उनले भनिन्, 'हालको बजारभाउका कारण धेरै मानिसहरु घर किन्न डराउँछन् । घर किन्न कहिल्यै पनि सही समय हुँदैन । किनकि घर किन्नका अहिले नै सही समय हो । वास्तवमा मानिसहरुले घर किन्नु पर्छ किनभने यो क्रेताहरुको बजार हो ।' ‘तिम्रो एस्टेट’ले घरधनीहरुका लागि नि:शुल्क प्रोपर्टी मेकओभर र म्यानेजमेन्ट मापदण्ड हेरेर गर्ने पनि उनले प्रस्ट पारिन् ।