लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके (गाहामगर समूह) वेल्स राज्य समन्वय परिषद् वेल्सको १३ सदस्यीय नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ ।
वेल्सको कुम्ब्रानमा आइतबार आयोजित समारोहमा अध्यक्ष मोतीप्रसाद पुन नेतृत्वको कार्यसमितिलाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शपथ ग्रहण गराउँदै प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा कार्यसमितिलाई फेटा लगाएर बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रम एनआरएनए यूके अध्यक्ष गाहामगर र प्रदेश १ का पूर्वसांसद सर्वध्वज साँवाले संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गाहामगरले आफ्नो मुख्य एजेन्डा वंशजको नेपाली नागरिकता निरन्तरता रहेको जनाए ।
वेल्सलाई एनआरएनए यूकेको मेरुदण्ड मानेको बताउँदै उनले केन्द्रबाट सधैं सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले गोर्खाहरुमाथि २०८ वर्षदेखि भेदभाव भइरहेकाले अब सशक्तरुपमा उत्रिनुपर्नेमा जोड दिए । तर, यसका लागि गोर्खा संगठनहरुबीच एकता आवश्यक भएको उनको भनाइ थियो ।
एनआरएनए यूके उपाध्यक्ष अमृत घलेले वेल्स परिषद्लाई बधाई दिए । एनआरएनए यूके आईसीसी सदस्य ओमप्रसाद थापा काउचाले गोर्खाहरुकै जगमा एनआरएन स्थापना भएको स्मरण गराए ।
कार्यक्रममा एनआरएनए यूके वेल्स राज्य समन्वय परिषद्का अध्यक्ष मोतीप्रसाद पुनले जिम्मेवार भएर समाज हितका लागि काम गर्न आफ्नो नयाँ कार्यसमितिलाई अनुरोध गरे ।
कार्यक्रममा एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका प्रमुख सल्लाहकार बद्री योङयाले नयाँ कार्यसमितिलाई बधाई दिंदै संस्थालाई पृथक् ढंगबाट लैजान सहयोग गर्ने बताए ।
कल्पना कन्दङवाले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए यूके आईसीसी सदस्यहरु ओमप्रसाद थापा काउचा, शारदा गुरुङ र भक्त दर्जी, एनआरएनए यूके उपाध्यक्षहरु अमृत घले, चम्पा थापा र अनिल मल्ल, सहकोषाध्यक्ष झलक पुन, सल्लाहकार डा. भीम पुन, युथ कोअर्डिनेटर विशाल राई, सदस्यहरु दिनेश पुन र असल लिम्बू, कन्सपीसियस ग्यालेन्ट्री क्रस (सिजिसी) अवार्ड विजेता गोर्खा दीपप्रसाद पुन, लोकगायिका देवी घर्तीमगरलगायतको सहभागिता थियो । सो अवसरमा राज्य समन्वय परिषद् उपाध्यक्ष दीपक सुब्बाले स्वागत मन्तव्य दिएका थिए ।